दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि ५ दिने क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु

 

 

अभिलाष गुप्ता

वीरगञ्ज ०६ फागुन

 

दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमार्फत सशक्त बनाउने उद्देश्यले वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा ५ दिने विशेष क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु भएको छ। “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” तथा “दबिएको आवाज बुलन्द होस्, अपाङ्गता अधिकार हनन नहोस्” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।

 

उक्त प्रशिक्षण कार्यक्रम नेपाल नेत्रहिन क्रिकेट संघ र मधेश प्रदेश नेत्रहिन क्रिकेट संघ को संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ। कार्यक्रममा मधेश प्रदेश नेत्रहिन क्रिकेट संघका अध्यक्ष महेश साहको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो।

 

कार्यक्रमका प्रमुख अतिथि उमेश मिश्रा रहेका थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, समाजसेवी रुपशिला जैसवाल, बन्दना शर्मा तथा मार्तिन मोक्तानको उपस्थिति रहेको थियो। अतिथिहरूले दृष्टिविहीन खेलाडीहरूको आत्मविश्वास वृद्धि र प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए।

 

५ दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा २२ जना विद्यार्थीहरूको सहभागिता रहेको छ। सहभागीहरूलाई क्रिकेटका आधारभूत सीप, बलिङ, ब्याटिङ, फिल्डिङ तथा खेलका नियम सम्बन्धी व्यवहारिक अभ्यास गराइने आयोजकले जनाएको छ। दृष्टिविहीन क्रिकेटमा प्रयोग हुने घण्टी जडित विशेष बल र ध्वनि संकेतमार्फत खेल सञ्चालन गरिने भएकाले खेलाडीहरूमा समन्वय, एकाग्रता र आत्मविश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

 

आयोजक संस्थाका पदाधिकारीहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै खेलकुदको माध्यमबाट सामाजिक समावेशीकरणलाई मजबुत बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।

 

स्थानीय सरोकारवालाहरूले पनि दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान र प्रोत्साहनका लागि राज्य तथा निजी क्षेत्रबाट थप सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

यस प्रशिक्षण कार्यक्रमले दृष्टिविहीन खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्ने आधार तयार पार्ने विश्वास लिइएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित