रक्सौलमा भारत–नेपाल मैत्रीका लागि संयुक्त रक्तदान अभियान आयोजना हुने

 

रक्सौल (भारत) — भारत–नेपाल मैत्री सुदृढ गर्ने उद्देश्यले रक्सौलमा संयुक्त रक्तदान अभियान आयोजना हुने भएको छ। यही फाल्गुण २१ गते -फेब्रुअरी २१ (शनिबार) बिहान ८:३० बजे मैत्री पुल (कस्टम हाउस नजिक) मा कार्यक्रम सञ्चालन गरिनेछ। उक्त अभियान Lions Club of Raxaul र Lions Club of Birgunj Curative को संयुक्त आयोजनामा हुन लागेको हो।

 

आयोजकका अनुसार भारत र नेपालबीच परम्परादेखि कायम रहेको “छोरी–रोटी” सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको हो। लायन्स क्लब अफ रक्सौलका अध्यक्ष बिमल कुमार सर्राफले संयुक्त रक्तदान अभियानले दुवै देशका नागरिकबीच आपसी विश्वास, सद्भाव र मानवीय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

 

लायन्स क्लब अफ वीरगंज क्युरेटिभका अध्यक्ष लायन डा. नीरज सिंहले रक्तदानलाई मानव सेवाको महान कार्य उल्लेख गर्दै ठूलो संख्यामा सहभागी भई रक्तदान गर्न सर्वसाधारणलाई अपिल गरेका छन्। उनका अनुसार रक्तदानले आकस्मिक अवस्थामा परेका बिरामीहरूको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्दछ।

 

कार्यक्रम तयारीका सन्दर्भमा आयोजित छलफलमा सुरक्षा निकायका प्रतिनिधि, सामाजिक अभियन्ता तथा लायन्स क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले अभियानलाई सफल बनाउन आवश्यक समन्वय र व्यवस्थापनका विषयमा समीक्षा गरेका थिए।

 

आयोजकहरूले भारत र नेपालका नागरिक, सामाजिक संस्था तथा युवाहरूलाई उत्साहपूर्वक रक्तदान गरी भारत–नेपाल मैत्री र मानवीय सेवाको भावनालाई अझ प्रगाढ बनाउन आह्वान गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित