वीरगंज, २८ माघ
वीरगंज महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोगस्वरूप आर्थिक सहायता प्रदान गरिएको छ। ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत लाइफ नेपालले वीरगंज महानगरपालिकासँगको सहकार्यमा प्रत्येक बालबालिकालाई जनही पाँच हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको हो।
महानगर क्षेत्रभित्रका १६ जना अपाङ्गता भएका बालबालिकालाई एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बालबालिकालाई सहयोग रकम प्रदान गर्दै अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्नु राज्य र समाज दुवैको दायित्व भएको बताउनुभयो। आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले महानगरले विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो। यस्ता सहकार्यात्मक पहलले समावेशी शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा जानकारी दिँदै लाइफ नेपालकी प्रतिनिधि कञ्चन कोइरालाले सेतो र पहेंलो परिचयपत्र प्राप्त गरेका अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सहयोग प्रदान गरिएको बताउनुभयो। उहाँका अनुसार रातो र निलो परिचयपत्र भएका अपाङ्गता भएका व्यक्तिहरूले सरकारबाट मासिक भत्ता प्राप्त गर्ने व्यवस्था भए पनि सेतो र पहेंलो कार्डधारीले त्यस्तो सुविधा नपाउने अवस्था रहेको छ। सोही अवस्थालाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री, पोशाक तथा अन्य शैक्षिक आवश्यकताका लागि आर्थिक सहयोग प्रदान गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो।
सहयोग प्राप्त गर्ने १६ जना बालबालिकामध्ये ६ जना बालिका र १० जना बालक रहेका छन्। अभिभावकहरूले यस्तो सहयोगले बालबालिकाको अध्ययन निरन्तर राख्न सहज हुने र थप उत्साह तथा प्रेरणा मिल्ने बताएका छन्।
महानगरपालिका र गैरसरकारी संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमले अपाङ्गता भएका बालबालिकाको शिक्षा, समावेशिता तथा आत्मनिर्भरता प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।









