निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ, फागुन ३ भित्र ढुवानी लक्ष्य

 

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैनिक १३ लाखको दरले मतपत्र छपाइ गरिरहेको छ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार प्रत्यक्ष निर्वाचनतर्फ छपाइ गर्नुपर्ने कुल दुई करोड तीन लाख मतपत्रमध्ये बिहीबार साँझसम्म करिब ८० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ। केन्द्रले आगामी एक साताभित्र सम्पूर्ण मतपत्र छपाइ सकी प्याकिङ प्रक्रिया सुरु गर्ने योजना बनाएको छ।

 

पौडेलले जनक शिक्षा सामग्री केन्द्रले यसअघि नै १० लाख नमूना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई उपलब्ध गराइसकेको जानकारी दिए। साथै, समानुपातिक निर्वाचनतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङको काम समेत सम्पन्न भइसकेको उनले बताए।

उनका अनुसार समानुपातिकतर्फका मतपत्र माघ २५–२६ गतेदेखि ढुवानी सुरु गरिनेछ भने प्रत्यक्षतर्फका मतपत्र पनि यही महिनाभित्र छपाइ सम्पन्न गरिनेछ। फागुन १–२ गतेसम्म सबै प्रक्रिया पूरा गरी जिल्लास्तरमा मतपत्र ढुवानी गर्ने तयारी भइरहेको छ।

 

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका लागि हालसम्म ८० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ। समानुपातिकतर्फ दुई करोड आठ लाख ५४ हजार ८०० मतपत्र छपाइ सम्पन्न गरी माघ १२ गतेदेखि प्रत्यक्षतर्फको दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ सुरु गरिएको केन्द्रले जनाएको छ।

 

निर्वाचन आयोगको फागुन ३ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याउने योजनाअनुसार केन्द्रले कार्य तीव्र रूपमा अघि बढाइरहेको छ। साथै, निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नै खरिद गर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित