वीरगंज–२५ श्रीसियामा नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ अन्तर्गत अगुवा कार्यकर्ता भेला भव्य रूपमा सम्पन्न भएको छ। क्षेत्रीय अध्यक्ष मनोज कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व मेयर विजय सरावगी, मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, महानगर कार्यवाहक अध्यक्ष लियाकत अली, नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, खुरम आलमलगायत नेताहरूले आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले यसअघि निर्वाचित नेताले जनअपेक्षाअनुसार पर्याप्त काम नगरेको आरोप लगाउँदै शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको बताइन्। उनले मधेश प्रदेशमा महिलाको अवस्था नाजुक रहेको उल्लेख गर्दै महिला सशक्तिकरण, रोजगारी, शिक्षा तथा जीवनस्तर सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
“मधेशमा महिलाको अवस्था चिन्ताजनक छ। महिला सशक्तिकरण र जीवनस्तर सुधारका लागि ठोस योजना कार्यान्वयन गर्ने मेरो लक्ष्य हो,” यादवले भनिन्।
उम्मेदवार यादवले आफू युवा भएको कारण देशका युवाहरूले भोगिरहेका समस्या तथा महिलाले समाजमा भोगिरहेका कठिनाइहरू समाधानका लागि संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले आफू पद, पावर वा पैसाका लागि नभई नागरिकको जीवनस्तर सुधार र देशको समग्र विकासका लागि राजनीतिमा सक्रिय भएको स्पष्ट पारिन्।
कार्यक्रममा उपस्थित कार्यकर्ताहरूलाई एकताबद्ध भई संगठन मजबुत बनाउन तथा आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन आह्वान गर्दै यादवले मतदातालाई ‘सूर्य’ छापमा मतदान गर्न आग्रह गरिन्।
भेलामा स्थानीय कार्यकर्ता, पार्टीका विभिन्न तहका नेताहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।









