राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनःस्थापनाको सम्भावना बढ्दै गएको छ : बिरेन्द्र थापा

 

वीरगंज । नेपाल राष्ट्रवादी समूहका अध्यक्ष तथा ‘वीर गोर्खाली’ अभियन्ता बिरेन्द्र थापाले नेपालमा राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनःस्थापनाको सम्भावना दिनप्रतिदिन बढ्दै गएको दाबी गरेका छन्।

 

मंगलबार वीरगंजस्थित विर्ताबाट नगर परिक्रमा गर्दै परवानिपुरसम्म नेपालको राष्ट्रिय झण्डा फहराउँदै आयोजना गरिएको अभियानका क्रममा बोल्दै उनले वर्तमान लोकतान्त्रिक तथा गणतान्त्रिक व्यवस्थाले मुलुकलाई अस्थिरता र अवनतिको दिशातर्फ धकेलेको आरोप लगाए। उनका अनुसार लोकतन्त्र र गणतन्त्रको नाममा नेताहरूले देशलाई कमजोर बनाउँदै लगेका छन्।

 

थापाले राजाको शासनकालमा सञ्चालनमा रहेका सरकारी उद्योगहरू बन्द हुँदा देशका युवा र किसान बेरोजगार बन्न पुगेको बताए। रोजगारीको अभावकै कारण नेपाली युवाहरू खाडी मुलुकलगायत विभिन्न विदेशी मुलुकमा पलायन हुन बाध्य भएको उल्लेख गर्दै उनले राजसंस्था पुनःस्थापना गरी सरकारी उद्योगहरू पुनः सञ्चालन गर्न सके स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने दाबी गरे।

 

“समृद्ध नेपाल राजसंस्थाको अवधिमा मात्र सम्भव छ,” उनले भने ।

यसै सन्दर्भमा थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा दिएको सन्देश स्मरण गराए। उनका अनुसार उक्त सन्देशमा पूर्वराजा शाहले “पहिले देश नबनेको चिन्ता थियो, अहिले देश नै नरहने हो कि भन्ने चिन्ता छ” भनी व्यक्त गरेको भनाइले वर्तमान राष्ट्रिय अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गर्छ।

 

थापाले राजसंस्था तथा सनातन हिन्दु अधिराज्य पुनःस्थापनासँगै राष्ट्रिय एकता, पहिचान र स्वाभिमानको संरक्षणका लागि सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक रहेको बताए।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित