वीरगंज — वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले जनवरी २६, २०२६ का दिन आफ्नो परिसरभित्र भारतको ७७ औँ गणतन्त्र दिवस समारोह आयोजना गरेको छ। कार्यक्रमको सुरुवात महावाणिज्यदूत श्री डी. एस. मीना द्वारा राष्ट्रिय झण्डा फहराई गरिएको थियो भने भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुद्वारा राष्ट्रका नाममा दिइएको सन्देश वाचन गरिएको थियो।
कार्यक्रम विशेष शिक्षा विद्यालयको हितलाई केन्द्रमा राखेर आयोजना गरिएको थियो। सो अवसरमा विभिन्न १२ विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यार्थीहरूका मनमोहक प्रस्तुतिले उपस्थित दर्शकहरूलाई मोहित बनाउनुका साथै देशभक्तिको उच्च भावना सहित मनोरञ्जन प्रदान गरेको थियो।
समारोहमा वीरगंज महानगरपालिकाका मेयर श्री राजेशमान सिंह, पूर्व केन्द्रीय मन्त्री, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, कविगण, स्थानीय व्यापारीहरू, नेपाल–भारत मैत्री संघका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरू लगायत विभिन्न क्षेत्रका करिब ५०० जना व्यक्तिहरूको उपस्थिति रहेको थियो।
गणतन्त्र दिवस समारोहका अतिरिक्त, भारतीय महावाणिज्य दूतावास परिसरभित्र भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय गीत प्रदर्शनी पनि आयोजना गरिएको थियो। उक्त प्रदर्शनीमा विशेष गरी विद्यालयका विद्यार्थी तथा शिक्षक–शिक्षिकासहित आम नागरिकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
कार्यक्रमसँग सम्बन्धित केही तस्बिरहरू उपयुक्त प्रयोजनका लागि संलग्न गरिएको भारतीय महावाणिज्य दूतावासले जनाएको छ।









