काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज माघ ११ गते निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा एकसाथ हुनेछ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने बाँकी १७ पदका लागि आज मतदान हुन लागेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कोशी प्रदेशको खस आर्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचनका लागि सातै प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ। कोशी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङमा मतदान हुनेछ। मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका–४ धनुषामा मतदान केन्द्र तोकिएको छ।
त्यसैगरी, बागमती प्रदेशमा भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान हुने छ। गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की, लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र, घोराही दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी कैलालीमा मतदान हुने व्यवस्था मिलाइएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था रहेको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।









