बालुवाबाट बुद्ध दर्शन : मधुरेन्द्र कुमारको नाम यूएन बुक अफ वर्ल्ड रेकर्डमा

 

मोतिहारी/ ज्ञान, करुणा र मोक्षको पावन भूमी बोधगयाको कालचक्र मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध महोत्सव यस वर्ष विश्व शान्तिको सन्देशसहित ऐतिहासिक बनेको छ। महोत्सवको अवसरमा भारतका प्रख्यात अन्तर्राष्ट्रिय स्यान्ड आर्टिस्ट मधुरेन्द्र कुमारले आफ्नो अद्वितीय बालुवा कलामार्फत नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको हो।

 

मधुरेन्द्र कुमारले करिब १० घण्टाको निरन्तर परिश्रम र १५ टन बालुवा प्रयोग गरी १० फिट अग्लो पीपलको पातको आकारमा भगवान बुद्धको भव्य बालुवा मूर्ति निर्माण गर्नुभयो। उक्त कलाकृतिले महोत्सवमा सहभागी देश–विदेशका श्रद्धालु तथा पर्यटकहरूको मन जित्न सफल भयो।

 

यसै क्रममा उहाँले राजकुमार सिद्धार्थको जन्मदेखि महापरिनिर्वाणसम्म भगवान बुद्धको जीवनदर्शनमा आधारित ५० फरक–फरक बालुवाका मूर्तिहरू निर्माण गरी ऐतिहासिक कीर्तिमान स्थापना गर्नुभयो। यस असाधारण उपलब्धिका लागि यूएन बुक अफ वर्ल्ड रेकर्ड्सले उहाँलाई सम्मान प्रदान गर्दै आधिकारिक रूपमा रेकर्ड बुकमा नाम दर्ता गरेको छ।

 

यूएन बुक अफ वर्ल्ड रेकर्ड्सका अन्तर्राष्ट्रिय संयोजक प्रोफेसर बुहारी इसाहले इमेलमार्फत बधाई दिँदै भन्नुभएको छ,

“विश्व शान्ति, अहिंसा र सद्भावको सन्देश दिने महात्मा बुद्धका ५० वटा बालुवाका मूर्तिहरू निर्माण गर्ने असाधारण उपलब्धिका लागि स्यान्ड आर्टिस्ट मधुरेन्द्र कुमारलाई यो सम्मान प्रदान गरिएको हो।”

बिहार सरकारको पर्यटन विभाग तथा गया जिल्ला प्रशासनको संयुक्त आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय बौद्ध महोत्सव देश–विदेशका कलाकार र श्रद्धालुहरूको प्रमुख आकर्षणको केन्द्र रहँदै आएको छ। मुख्य मञ्चको सजावट तथा विविध सांस्कृतिक प्रस्तुतिहरूका बीच मधुरेन्द्रको बालुवा कला यस वर्ष विशेष आकर्षणका रूपमा स्थापित भयो। यूएन बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने उहाँ भारतीय इतिहासकै पहिलो स्यान्ड आर्टिस्ट बन्न सफल हुनुभएको छ।

 

उल्लेखनीय छ कि मधुरेन्द्र कुमार विगत २० वर्षदेखि निरन्तर अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा भगवान बुद्धका बालुवाका मूर्तिहरू निर्माण गर्दै आउनुभएको छ। सन् २०२३ मा उहाँले १०० टन (एक लाख किलोग्राम) बालुवा प्रयोग गरी २० फिट अग्लो र ३० फिट लामो विशाल बुद्ध मूर्ति निर्माण गर्नुभएको थियो, जसमा “हर घर गङ्गा जल” तथा गयाजी ड्यामको सन्देश समेटिएको थियो। उक्त मूर्तिलाई उत्तर भारतकै सबैभन्दा ठूलो बालुवा मूर्तिका रूपमा लिइन्छ।

 

२८ जुलाई १९८९ मा ननिहाल गाउँ बरवाकलामा जन्मिनुभएका मधुरेन्द्र कुमारको कला यात्रा अत्यन्त प्रेरणादायी रहेको छ। सन् १९९६ मा मात्र ७ वर्षको उमेरमा उहाँले आफ्नै पैतृक गाउँ बिजबनीस्थित अरुणा नदीको किनारमा बालुवाबाट भगवान बुद्धको पहिलो मूर्ति निर्माण गर्नुभएको थियो। गाउँलेहरूको प्रशंसाबाट सुरु भएको उहाँको कला यात्रा आज अन्तर्राष्ट्रिय पहिचानमा परिणत भएको छ।

 

मधुरेन्द्र कुमारले नेपाल, मलेसिया, भियतनाम, नेदरल्यान्ड्स, भुटान, श्रीलङ्का, जर्मनी, इटाली, रूस, जापान, लाओस, क्यानडा, बेलायत, स्कटल्याण्ड र अमेरिका लगायत भारतका विभिन्न राज्यहरूमा आफ्नो कला प्रदर्शन गरिसक्नुभएको छ। उहाँले बालुवाका मूर्तिमार्फत पर्यावरण संरक्षण, जलवायु परिवर्तन, सिङ्गल–यूज प्लास्टिकविरुद्ध अभियान, ‘सेभ आवर ओसन’, वन्यजन्तु संरक्षण, सरसफाइ, नशामुक्ति, महिला सशक्तीकरण, शिक्षा, देशभक्ति तथा विश्व शान्तिजस्ता सामाजिक तथा वैश्विक विषयमा निरन्तर जनचेतना फैलाउँदै आउनुभएको छ।

 

बोधगयाको यस पावन अवसरमा मधुरेन्द्र कुमारको बालुवा कलाले फेरि एकपटक प्रमाणित गरेको छ कि नाजुक बालुवाका कणहरूबाट पनि मानवता, करुणा र विश्व शान्तिको सशक्त सन्देश दिन सकिन्छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित