स्थापना दिवसमा सशस्त्र प्रहरी बलद्वारा बारा–पर्सा सीमावर्ती क्षेत्रमा ऐतिहासिक फ्ल्याग मार्च

 

वीरगंज, ०८ माघ

 

सशस्त्र प्रहरी बल, नेपालको स्थापना दिवसको अवसरमा बारा जिल्लाबाट पर्सा जिल्लासम्म सीमावर्ती क्षेत्रमा भव्य फ्ल्याग मार्च सम्पन्न भएको छ। देशको सीमा सुरक्षा, राष्ट्रिय एकता तथा सुरक्षाप्रतिको प्रतिबद्धताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमलाई ऐतिहासिक र अर्थपूर्ण रूपमा लिइएको छ।

फ्ल्याग मार्च कार्यक्रमको नेतृत्व सशस्त्र प्रहरी बल नं. १३ गणका गणपति पुरण चन्द भट्टले गर्नुभएको थियो। सीमावर्ती क्षेत्र हुँदै सम्पन्न उक्त मार्चले सुरक्षा निकायहरूको सतर्कता, अनुशासन र आपसी समन्वयलाई प्रत्यक्ष रूपमा उजागर गरेको सहभागीहरूको भनाइ रहेको छ।

 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला ढकालको उपस्थिति रहेको थियो। साथै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठक, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख सन्तोष ढकाल, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका विभिन्न तहका पदाधिकारीहरू र भारतीय सीमा सुरक्षा बल (SSB) का अधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

 

सीमावर्ती क्षेत्रमा आयोजित फ्ल्याग मार्चले नेपाल–भारत सीमा क्षेत्रमा आपसी विश्वास, सहकार्य तथा सुरक्षा समन्वयलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमले आम नागरिकमा सुरक्षा अनुभूति बढाउनुका साथै सशस्त्र प्रहरी बलको भूमिका र जिम्मेवारीप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

देशप्रेम, अनुशासन र राष्ट्रिय सुरक्षाप्रतिको अटल प्रतिबद्धताको प्रतीकका रूपमा सम्पन्न यो फ्ल्याग मार्च सशस्त्र प्रहरी बलको इतिहासमा स्मरणीय क्षणका रूपमा रहने आयोजक पक्षले जनाएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित