वीरगंज,पर्सा
वीरगंजस्थित बीपी उत्थान अगाडि रहेको रेल्वे जग्गामा जनकपुरबाट पुरानो रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने विषयमा आज स्थलगत निरीक्षण गरिएको छ। ऐतिहासिक रेल सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाइएको योजनाबारे सरोकारवालाबीच छलफल गरिएको हो।
निरीक्षण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, महानगरपालिकाका हरियाली संयोजक तथा सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, सरसफाइ अभियन्ता शिव गुप्ता लगायतको सहभागिता रहेको थियो।

स्थलगत निरीक्षणका क्रममा उक्त स्थानको वर्तमान अवस्था, पूर्वाधारको सम्भावना तथा संग्रहालय स्थापनाका लागि आवश्यक प्रक्रिया बारे विस्तृत छलफल गरिएको जनाइएको छ। सहभागीहरूले जनकपुरबाट ऐतिहासिक महत्व बोकेको पुरानो रेल शीघ्र ल्याई संग्रहालय निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
नगर प्रमुख सिंहले रेल्वे संग्रहालय स्थापना भएपछि वीरगंजको ऐतिहासिक पहिचान थप सुदृढ हुने, पर्यटन प्रवर्द्धन हुने तथा नयाँ पुस्ताले रेल्वे इतिहासबारे जानकारी प्राप्त गर्ने अवसर पाउने बताउनुभयो। साथै, यो योजना महानगरपालिकाको दीर्घकालीन सांस्कृतिक तथा पर्यटकीय विकास योजनासँग मेल खाने उहाँको भनाइ थियो।
निरीक्षण टोलीले आवश्यक समन्वय र प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो रेल ल्याउने र संग्रहालय स्थापनाको कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रस्तावित रेल्वे संग्रहालय वीरगञ्जको नयाँ आकर्षणका रूपमा विकास हुने अपेक्षा गरिएको छ।









