अभिलाष गुप्ता
वीरगञ्ज, ०६ माघ
डि.ए.भी. केडिया स्कूलद्वारा आयोजित “श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२” अन्तर्गत आज पहिलो दिन दुईवटा रोमाञ्चक खेल सम्पन्न भएका छन्।
आज सम्पन्न पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कूलले जीवन ज्योति स्कूललाई ५–२ गोल अन्तरले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ। खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको साउथ जोनले खेलमा पूर्ण नियन्त्रण कायम राख्दै सहज जित दर्ता गर्यो। उक्त खेलमा साउथ जोन सेकेन्डरी स्कूलका ज्ञानराज चौधरी म्यान अफ द म्याच घोषित भए।

त्यसैगरी दोस्रो खेलमा मनकामना सेकेन्डरी स्कूलले मेरीगोल्ड स्कूललाई टाइ–ब्रेकरमा ८–६ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको छ। निर्धारित समयसम्म दुवै टोलीले बराबरी खेल खेलेपछि खेल टाइ–ब्रेकरमा पुगेको थियो। टाइ–ब्रेकरमा मनकामनाका खेलाडीहरूले उत्कृष्ट धैर्यता र कौशल प्रदर्शन गर्दै जित सुनिश्चित गरेका हुन्। यस खेलमा मनकामना सेकेन्डरी स्कूलका अमर कुश्वाहा म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताबारे जानकारी दिँदै डि.ए.भी. आर.बी. केडिया स्कूलका प्रधानाध्यापक राकेश मिश्राले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन तथा आपसी सद्भाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनहरूमा थप रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलहरू हुने जानकारी पनि दिनुभयो।









