आरएसएस शताब्दी वर्ष अवसरमा हिन्दू सम्मेलनको तयारी बैठक सम्पन्न

 

अभिलाष गुप्ता

रक्सौल, ०३ माघ

राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को शताब्दी वर्षको अवसरमा आगामी ३१ जनवरीमा आयोजना हुने हिन्दू सम्मेलनलाई सफल बनाउने उद्देश्यले शनिबार रक्सौलस्थित पुरानी पोखरा नजिकको जगदीश कम्प्लेक्समा विशेष बैठक सम्पन्न भएको छ। बैठक आरएसएस रक्सौल अन्तर्गत शिवाजी बस्तीका स्वयंसेवकहरूको सहभागितामा सम्पन्न भएको हो।

 

बैठकको अध्यक्षता जिल्ला सेवा प्रमुख विकास कुमारले गर्नुभएको थियो। बैठकलाई सम्बोधन गर्दै उहाँले विश्वकै सबैभन्दा ठूलो सामाजिक तथा सांस्कृतिक संगठन राष्ट्रिय स्वयंसेवक संघको स्थापना भएको १०० वर्ष पूरा भएको अवसरमा देशभर विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका जानकारी दिनुभयो। सोही कार्यक्रमअन्तर्गत रक्सौलका १० वटै बस्तीहरूको सहभागितामा विराट हिन्दू सम्मेलन आयोजना गर्न लागिएको उहाँले बताउनुभयो।

 

सम्मेलनलाई सफल बनाउन शिवाजी बस्तीका स्वयंसेवकहरूको समिति गठन गर्दै जिम्मेवारी बाँडफाँड गरिएको छ। गठित समितिमा रजनीश प्रियदर्शी अध्यक्ष, सुरेश कुमार गुप्ता (बाबा) उपाध्यक्ष, धीरज कुमार सचिव, सनोज कुमार सह–सचिव, हेमन्त वर्णवाल कोषाध्यक्ष तथा विवेक कुमार सह–कोषाध्यक्ष चयन भएका छन्।

 

विकास कुमारका अनुसार संघको शताब्दी वर्षको अवसरमा सातवटा मुख्य कार्यक्रम तय गरिएको छ, जसअन्तर्गत हिन्दू सम्मेलन एक महत्वपूर्ण कार्यक्रमका रूपमा समावेश छ। सम्मेलनको मुख्य उद्देश्य सामाजिक समरसता कायम गर्नु, सांस्कृतिक चेतनाको विकास गर्नु, हिन्दू समाजलाई संगठित गर्नु तथा सशक्त भारत निर्माणमा योगदान पुर्‍याउनु रहेको उहाँले स्पष्ट पार्नुभयो।

 

उहाँले रक्सौलका सम्पूर्ण नागरिकहरूलाई पोस्ट अफिस रोडस्थित श्री राम जानकी मन्दिर सह विवाह परिसरमा आगामी ३१ जनवरी साँझ ५ बजेदेखि आयोजना हुने हिन्दू सम्मेलनमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गर्नुभयो। सम्मेलन तीन सत्रमा सम्पन्न हुनेछ, जसअन्तर्गत भजन सन्ध्या, बौद्धिक सत्र तथा प्रसाद वितरण कार्यक्रम समावेश गरिएको छ।

 

बैठकमा जिल्ला कार्यवाह दुर्गेश कुमार, जिल्ला सम्पर्क सुबोध कुमार, शिवाजी बस्ती प्रमुख हेमन्त कुमार, जिल्ला व्यवस्था प्रमुख प्रकाश कुमारसहित धीरज कुमार, अजय कुमार, चन्दन गुप्ता, सुनील कुमार, सुरेश कुमार गुप्ता (बाबा), सनोज कुमार, विवेक कुमार लगायत अन्य धेरै स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित