फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि पर्साका चारै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

 

वीरगंज/ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। वीरगन्जको राधेमाईस्थित जिल्ला समन्वय समिति कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ।

 

जिल्ला निर्वाचन कार्यालय पर्साकी जिल्ला निर्वाचन अधिकारी अनामिका रौनियारका अनुसार निर्वाचन कार्यक्रमलाई व्यवस्थित, समयमै र प्रभावकारी रूपमा सञ्चालन गर्न ती कार्यालयहरू स्थापना गरिएको हो। उनका अनुसार निर्वाचन प्रक्रिया पारदर्शी, सुरक्षित र सहज रूपमा अघि बढाउने उद्देश्यले सबै तोकिएका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ।

 

मुख्य निर्वाचन अधिकृत तथा पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीले निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन कार्यक्रम अघि बढाइएको जानकारी दिए। उनले निर्वाचनलाई निष्पक्ष, भयरहित र कानुनसम्मत रूपमा सम्पन्न गराउन प्रशासन, सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम भइरहेको बताए। मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने वातावरण बनाइने उनको भनाइ छ।

 

पर्सा जिल्लामा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति परिसरमै स्थापना गरिएको छ भने क्षेत्र नम्बर ३ को कार्यालय पोखरिया नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा र क्षेत्र नम्बर ४ को कार्यालय धोबिनी गाउँपालिका कार्यालय नजिकै सञ्चालनमा ल्याइएको छ।

 

जिल्लामा कुल ४४३ वटा मतदान केन्द्रमार्फत मतदान गराइने जिल्ला निर्वाचन अधिकारी रौनियारले जानकारी दिइन्। तीमध्ये ४४१ वटा नियमित मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन्। अस्थायी केन्द्रमध्ये एक वीरगन्ज कारागारमा र अर्को नेपाली सेनाको श्रीजंग गणमा रहनेछ। कारागारमा रहेका कैदीबन्दीले त्यहीँबाट मतदान गर्नेछन् भने सुरक्षाकर्मी तथा निर्वाचनमा खटिने कर्मचारीहरूले श्रीजंग गणस्थित मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था गरिएको छ।

 

निर्वाचन क्षेत्रगत रूपमा क्षेत्र नम्बर १ मा १०३, क्षेत्र नम्बर २ मा ११० तथा क्षेत्र नम्बर ३ र ४ मा समान रूपमा ११४–११४ वटा मतदान केन्द्र तोकिएका छन्। यसैगरी जिल्लाभर १६७ वटा मतदान स्थल कायम गरिएको छ। क्षेत्र नम्बर १ मा ३४, क्षेत्र नम्बर २ मा ३८, क्षेत्र नम्बर ३ मा ४७ र क्षेत्र नम्बर ४ मा ४८ वटा मतदान स्थल रहेका छन्।

 

पर्सा जिल्लामा कुल मतदाता संख्या ३ लाख ७६ हजार ५१३ रहेको छ। तीमध्ये १ लाख ६४ हजार ४२१ महिला, २ लाख १२ हजार ७७ पुरुष तथा १५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मतदाता रहेका छन्। फागुन २० गतेसम्म १८ वर्ष पूरा भएका मतदातालाई मतदाता सूचीमा समावेश गरिएको जिल्ला निर्वाचन अधिकारी रौनियारले बताइन्।

 

कार्यालय स्थापना कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द्र भट्ट, अनुसन्धान कार्यालय पर्साका उपनिर्देशक सन्तोष ढुङ्गेल, निर्वाचन अधिकृतहरू मधुसुदन आचार्य, बुद्धिलाल श्रेष्ठ र नुतन झा लगायतको उपस्थिति रहेको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित