गढीमाई–८ बरियारपुरमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन उद्घाटन

 

रौतहट/  रौतहटको गढीमाई नगरपालिका–८ बरियारपुरमा आज शुक्रबार कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन औपचारिक रूपमा उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

 

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन प्रसाद परियारको प्रमुख आतिथ्यता तथा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवको अध्यक्षतामा आयोजित समारोहबीच सेवा केन्द्रको उद्घाटन गरिएको हो।

रिड कार्यक्रम अन्तर्गत निर्माण गरिएको दुई तले भवन करिब २ करोड ३० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको छ। सेवा केन्द्र सञ्चालनमा आएपछि गढीमाई नगरपालिकाका किसान तथा पशुपालकहरूलाई कृषि प्रविधि, पशु उपचार, बीउबिजन, प्राविधिक परामर्शलगायतका सेवा स्थानीय तहमै उपलब्ध हुने अपेक्षा गरिएको छ।

 

उद्घाटन समारोहमा गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, वडा नम्बर ८ का वडाध्यक्ष, अन्य जनप्रतिनिधि, कृषक, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

कार्यक्रममा मन्तव्य राख्दै मन्त्री डा. परियारले कृषि तथा पशुपन्छी क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित संघीय सरकारले सेवा केन्द्रहरूको विस्तार तथा सुदृढीकरणमा जोड दिइरहेको बताए। उनले आधुनिक कृषि प्रणालीमार्फत किसानको उत्पादन र आम्दानी बढाउने लक्ष्य सरकारको रहेको स्पष्ट पारे।

 

त्यसैगरी नगरप्रमुख श्यामप्रसाद यादवले स्थानीय किसानको आवश्यकता अनुसार कृषि पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै नवनिर्मित सेवा केन्द्रबाट किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे।

 

नयाँ सेवा केन्द्र सञ्चालनमा आएसँगै गढीमाई नगरपालिकाभित्रका किसान तथा पशुपालकहरूलाई सेवा लिन सहज हुने र कृषि तथा पशुपन्छी विकासमा थप टेवा पुग्ने स्थानीयवासीहरूले अपेक्षा गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित