वीरगंज/ १ माघ
श्री सिरडी साई बाबा मन्दिर सेवा ट्रस्टको आयोजनामा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय कार्य समितिलाई भव्य तथा सम्मानपूर्ण समारोहबीच विशेष सम्मान प्रदान गरिएको छ। धर्म, संस्कृति र पत्रकारितामार्फत समाजसेवामा पुर्याएको योगदानको कदर गर्दै संघलाई उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रम ट्रस्टका संरक्षक निरज सरार्फ तथा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राजन रौनियारले संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए। समारोहमा संघका केन्द्रीय पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
ट्रस्टले पत्रकारितालाई सामाजिक चेतना, धार्मिक सहिष्णुता र सांस्कृतिक पहिचान संरक्षणको प्रभावकारी माध्यम बनाउँदै आएको हिन्दू पत्रकार संघ नेपालको भूमिकाको उच्च प्रशंसा गर्दै संघका अध्यक्षसहित सम्पूर्ण केन्द्रीय कार्य समिति सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान गरेको जनाएको छ।
सम्मान ग्रहणपछि बोल्दै संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले संघ कहिल्यै पनि आफ्नो कर्तव्यबाट पछि नहट्ने स्पष्ट गर्दै यस सम्मानले झन् जिम्मेवारीबोध गराएको बताए। उनले पत्रकारिताले समाजलाई सही दिशा दिने मात्र नभई धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समेत सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उपस्थित वक्ताहरूले यस्ता सम्मान कार्यक्रमले पत्रकारहरूलाई थप जिम्मेवार र प्रेरित बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
हिन्दू पत्रकार संघ नेपालका प्रतिनिधिहरूले सम्मानप्रति श्री सिरडी साई बाबा मन्दिर सेवा ट्रस्टप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सत्य, निष्पक्ष र समाजहितमा केन्द्रित पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त अवसरमा ट्रस्टका अध्यक्ष प्रवेश सरार्फले धर्म, संस्कृति र पत्रकारिताबीचको सहकार्यले समाजलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। कार्यक्रममा ट्रस्टका संरक्षक निरज सरार्फ, अध्यक्ष प्रवेश सरार्फ, उपाध्यक्ष संजय कुशवाहा, दीपेन्द्र श्रेष्ठ, आकाश सरार्फ तथा हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियार, उपाध्यक्ष विनोद पटेल, कोषाध्यक्ष आनन्द पटेल, अभिलाष गुप्ता लगायत ट्रस्ट र संघका केन्द्रीय कार्य समिति सदस्यहरूको सहभागिता रहेको थियो।









