राजतन्त्र समर्थनमा अनधिकृत एसएमएस पठाएको आरोपमा निर्देश सेढाई पक्राउ

 

काठमाडौं । राजतन्त्रको पक्षमा प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै अनधिकृत रूपमा ठूलो संख्यामा एसएमएस पठाएको आरोपमा प्रहरीले निर्देश सेढाईलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति उनलाई नियन्त्रणमा लिएको हो।

 

केही दिनयता सर्वसाधारणको मोबाइलमा अनुमति विना राजनीतिक प्रकृतिका सन्देश आएको भन्दै गोपनीयता उल्लङ्घन भएको आरोपसहित नेपाल टेलिकमको आलोचना हुँदै आएको थियो। उक्त सन्देशमा ‘प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातनी महान अधिराज्य नेपाल बनाउनको लागि पुस ३० गते १२ बजे बालुवाटार’ भनी उल्लेख गरिएको थियो।

 

यस विषयमा स्पष्टिकरण दिँदै नेपाल टेलिकमले मंगलबार विज्ञप्ति जारी गरी व्यापार–व्यवसाय प्रवर्द्धनका लागि मात्रै एसएमएस सेवा प्रवाह गर्न स्वीकृति दिने गरेको जनाएको छ। साथै, जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्‍याउने किसिमका सन्देश प्रवाह नगर्न सम्बन्धित सेवा प्रदायकहरूलाई सचेत गराइएको पनि विज्ञप्तिमा उल्लेख छ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार करिब ५० लाख जनालाई यस्तो सन्देश पठाइएको पाइएको छ। प्रहरीका अनुसार नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’को नाममा एसएमएस पठाइएको थियो।

 

अनुसन्धानका क्रममा सेढाईले दूरसञ्चार कम्पनीहरूसँग सम्झौता गरी तीनमध्ये दुई कम्पनीको सेवा प्रयोग गरेर करिब एक करोड रुपैयाँ खर्च गरी सन्देश पठाएको दाबी गरेको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित