वीरगंजमा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम सम्पन्न

वीरगंज, १२ पौष

 

सुमार्ग विन्दुआमा फाउन्डेसन (पशुपन्छी अधिकार जागरण समूह) तथा नेपाल भेटेनरी एसोसिएसन, मधेश प्रदेशको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका वडा नं. २ अन्तर्गत २ नम्बर रोडस्थित राधाकृष्ण मन्दिर अगाडि तथा आसपासका क्षेत्रमा सामुदायिक कुकुर बन्ध्याकरण (नसबन्दी) कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत उक्त क्षेत्रमा रहेका २० वटा सामुदायिक कुकुरको सुरक्षित रूपमा बन्ध्याकरण गरिएको आयोजक संस्थाले जनाएको छ। अनियन्त्रित रूपमा बढ्दै गएको कुकुरको संख्या नियन्त्रण गर्नुका साथै मानव–पशु सहअस्तित्वलाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै सुमार्ग विन्दुआमा फाउन्डेसनकी अध्यक्ष तथा कार्यक्रम संयोजक प्रतिभा कोइरालाले पशुपन्छी अधिकार संरक्षणका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय सरकार, सरोकारवाला निकाय तथा आम नागरिकबीच सहकार्य र समन्वय भएमा मात्र यस्ता अभियानलाई प्रभावकारी र दीगो बनाउन सकिने उल्लेख गर्नुभयो।

 

सुमार्ग विन्दुआमा फाउन्डेसनकी अध्यक्ष प्रतिभा कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी तथा शिक्षक मार्तिन मोक्तान, अञ्जली श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, बबिता पौडेल, भुपेन्द्र पौडेल, सुनिता अग्रवाल, सुनिता बास्तोला तथा कपडा बैंकका अध्यक्ष लालबाबू सिंहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमका लागि प्राविधिक सहयोग नेपाल भेटेनरी एसोसिएसन, मधेश प्रदेशका अध्यक्ष डा. दिनेश तिवारी, सचिव सुभाष सिंह, सह–सचिव तथा वीरगञ्ज महानगरपालिकाको पशु सेवा शाखा प्रमुख डा. सुदिप कुमार शर्मासहित पशु प्राविधिकहरूको टोलीले उपलब्ध गराएको थियो।

आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता पशु कल्याणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित