कटहरियास्थित ज्योती डिस्टिलरीमा बोइलर पड्किँदा एकको मृत्यु, पाँच मजदुर घाइते

दिपेश कुमार शाह रौतहट — कटहरिया नगरपालिका वडा नं. ९ मा रहेको ज्योती डिस्टिलरीमा शुक्रबार भीषण दुर्घटना भएको छ। उद्योगभित्र जडान गरिएको बोइलर अचानक विस्फोट हुँदा एक जना कामदारको घटनास्थलमै ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

 

प्रत्यक्षदर्शीका अनुसार विस्फोट अत्यन्तै ठूलो आवाजसहित भएको थियो, जसका कारण डिस्टिलरीको संरचनामा समेत क्षति पुगेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि वीरगञ्जस्थित अस्पतालतर्फ रेफर गरिएको छ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी सहायक निरीक्षक धर्मेन्द्र पौडेलका अनुसार घटनाको कारण पत्ता लगाउन अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। मृतक तथा घाइतेहरूको नाम–ठेगाना हालसम्म सार्वजनिक गरिएको छैन।

 

दुर्घटनापछि स्थानीय बासिन्दामा त्रासको वातावरण सिर्जना भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीले उद्योग क्षेत्रलाई नियन्त्रणमा लिई सुरक्षा सतर्कता बढाएका छन्। घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित