LRP–41 अन्तर्गत निर्माण सम्पन्न चारकोठे विद्यालय भवनको सभामुख राम अशिष यादवद्वारा

राजेश सिंहगौशाला, पुस ११ गते ।

 

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–९ गोठबनौलीस्थित श्री दोरिक जनता आधारभूत विद्यालयमा निर्माण सम्पन्न चार कोठे, दुई तले पक्की विद्यालय भवनको मधेस प्रदेशका सभामुख राम अशिष यादवले औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ ।

 

रतौली युवा क्लब महोत्तरी र एक्सन एड नेपालको साझेदारीमा तथा रामगोपालपुर नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको स्थानीय अधिकार कार्यक्रम (LRP–41) अन्तर्गत उक्त भवन निर्माण सम्पन्न भई उद्घाटन गरिएको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख राम अशिष यादवले शिक्षामा गरिएको लगानी दीर्घकालीन सामाजिक रूपान्तरणको आधार हुने बताउनुभयो।

 

सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढ भएसँगै विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि हुने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो। उहाँले प्रदेश सरकारले सामुदायिक विद्यालयको विकास र शैक्षिक सुधारका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

नगर प्रमुख राम दुलार साहले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गर्नुभयो ।उहाँले सीमित स्रोत–साधनका बीच पनि स्थानीय सरकार, गैरसरकारी संस्था र समुदायबीचको सहकार्यबाट विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्न सकिने बताउनुभयो । “यस विद्यालयमा निर्माण भएको नयाँ भवनले विद्यार्थीहरूलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर दिएको छ,” नगर प्रमुख साहले भन्नुभयो ।

 

रतौली युवा क्लब महोत्तरीका कार्यकारी निर्देशक बैधनाथ चौधरीले स्थानीय अधिकार कार्यक्रम मार्फत समुदायस्तरमा शिक्षा, बालअधिकार र पूर्वाधार विकासलाई जोड दिइँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार बालमैत्री र गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्ने लक्ष्यका साथ सामुदायिक विद्यालयमा भौतिक संरचना सुधारलाई प्राथमिकतामा राखिएको हो । “स्थानीय सरकार र समुदायको सक्रिय सहकार्य बिना यस्ता परियोजना सफल हुन सक्दैनन्,” उहाँले उल्लेख गर्नुभयो ।

 

यसअघि उक्त भवनको शिलान्यास जेष्ठ ५ गते रामगोपालपुर नगरपालिकाका नगर प्रमुख राम दुलार साह र रतौली युवा क्लब महोत्तरीका कार्यकारी निर्देशक बैधनाथ चौधरीले संयुक्त रूपमा गर्नुभएको थियो । शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको उक्त चार कोठे, दुई तले पक्की भवनको अनुमानित लागत रु ७३ लाख ९३ हजार रहेको छ ।

 

वर्षौँदेखि सीमित कक्षा कोठामा पठनपाठन सञ्चालन गर्नुपर्दा विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूले विभिन्न समस्या झेल्दै आएका थिए। कमजोर भौतिक पूर्वाधार र असहज शैक्षिक वातावरणका कारण सिकाइ प्रक्रियामा असर परेको स्थानीयको गुनासो थियो ।

 

नयाँ भवन निर्माणपछि विद्यालयमा सुरक्षित, सुलभ र प्रेरणादायी शैक्षिक वातावरण निर्माण हुने अपेक्षा गरिएको छ। यसले पठनपाठन व्यवस्थापन सुधार हुनुका साथै विद्यार्थीको उपस्थिति, सिकाइ उपलब्धि र समग्र शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

 

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत सम्पन्न यस पहलले गोठबनौली क्षेत्रका बालबालिकाहरूको शैक्षिक भविष्यलाई अझ सुदृढ, सहज र उज्यालो बनाउने अपेक्षा गरिएको छ ।

 

उद्घाटन समारोह वडा नं. ९ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य नागेश्वर प्रसाद मण्डलको अध्यक्षता, मधेस प्रदेशका सभामुख राम अशिष यादव प्रमुख अतिथि, विशिष्ट अतिथिहरूमा रामगोपालपुर नगरपालिकाका नगर प्रमुख राम दुलार साह र प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास, रतौली युवा क्लब महोत्तरीका कार्यकारी निर्देशक बैधनाथ चौधरी, क्लबका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समिति, भवन निर्माण समिति, कार्यक्रम संयोजक अविनाश कुमार महतो, परियोजना अधिकृत अभिषेक दुबे लगायत स्थानीय अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित