वीरगंजमा ३७१ जनाको मोतियाबिन्दु शल्यक्रिया सम्पन्न, लायन्स क्लब वीरगंज परिवारको अभियान निरन्तर

अभिलाष गुप्ता

वीरगंज १५ मंसिर

 

Mission 5000 Cataract Operation को लक्ष्यअनुसार लायन्स क्लब वीरगंज परिवारद्वारा सञ्चालन भइरहेको निशुल्क मोतियाबिन्दु शल्यक्रिया अभियान निरन्तर गतिमा अघि बढिरहेको छ। बिरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोग तथा तिलगंगा आँखा अस्पताल, काठमाडौंका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको सहकार्यमा हालसम्म ३७१ जना बिरामीको शल्यक्रिया पूर्णतः निशुल्क सम्पन्न गरिएको छ।

 

बारा–पर्सा क्षेत्रका बृद्धबृद्धामध्ये मोतियाबिन्दुका कारण दृष्टि गुमाउँदै जाने अवस्थाले भावनात्मक रूपमा प्रभावित बनेको लायन्स क्लब बिरगंज परिवारले गाउँ–गाउँ, बस्ती–बस्ती र गल्ली–गल्लीमा पुगेर समुदायमै आँखा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। सामुदायिक आँखा केन्द्रका चिकित्सकहरूले घर–घर नजिक पुगेर प्रारम्भिक स्वास्थ्य जाँच गरिरहेका छन् भने शल्यक्रियाको आवश्यकता भएका बिरामीहरूलाई सामुदायिक अस्पतालमा लगेर तिलगंगा आँखा अस्पतालका विशेषज्ञहरूले अत्याधुनिक प्रविधिबाट अपरेशन गर्दै आएका छन्।

 

यस अभियानको उद्देश्य आर्थिक अभाव, दूरी वा जानकारी नहुँदा कुनै पनि व्यक्तिले दृष्टिबाट वञ्चित हुन नपरोस् भन्ने रहेको लायन्स क्लब बिरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेले जानकारी दिनुभयो। उनका अनुसार Mission 5000 अन्तर्गत ५००० शल्यक्रिया पूरा नहुञ्जेल यो सेवा निरन्तर रूपमा निःशुल्क जारी रहनेछ।

 

लायन्स क्लब वीरगंज परिवारले सामुदायिक स्वास्थ्य सेवा, सामाजिक उत्तरदायित्व र मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै आँखा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरिरहेको छ। क्लबले दृष्टि पुनर्स्थापना हुँदै हजारौँ परिवारको जीवनमा फेरि उज्यालो फर्कने विश्वास व्यक्त गर्दै अभियानमा सबैको हातेमालो र सहयोगको अपिल गरेको छ।

सम्बन्धित