नितेश राज यादव
वीरगञ्ज, १८ असोज । वीरगञ्जको पानिटङ्कीस्थित पर्सा म्यानेजमेन्ट सेन्ट्रल कलेजमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा हौसला प्रदान गर्ने उद्देश्यले भव्य स्वागत कार्यक्रम सम्पन्न भएको छ।
कलेज परिसरमा आयोजित उक्त कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको नयाँ शैक्षिक यात्रालाई उत्साहपूर्ण र स्मरणीय बनाउने प्रयास गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रकाश यादवले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि गुणस्तरीय शिक्षासँगै असल संस्कार, अनुशासन र व्यावहारिक ज्ञान पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। शिक्षाले विद्यार्थीलाई शैक्षिक रूपमा मात्र नभई सामाजिक र नैतिक रूपमा समेत सक्षम बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
नयाँ विद्यार्थीको कलेज जीवनलाई उत्सवमय बनाउन सिनियर विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, सुमधुर गायन तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो। यस्ता कार्यक्रमले नयाँ र पुराना विद्यार्थीबीच आपसी सद्भाव, आत्मीयता र सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा कलेजका शैक्षिक प्रमुख आशुतोष कुमार यादव, शिक्षक–शिक्षिका, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले स्वागत कार्यक्रमले नवआगन्तुक विद्यार्थीलाई कलेजको वातावरणसँग घुलमिल हुन तथा नयाँ शैक्षिक यात्राप्रति उत्साहित हुन प्रेरित गरेको बताएका थिए।
सांस्कृतिक प्रस्तुति, मनोरञ्जन र प्रेरणादायी सन्देशसहित सम्पन्न कार्यक्रमले विद्यार्थीहरूमा नयाँ ऊर्जा र आत्मविश्वास थपेको आयोजकको विश्वास छ।








