जनताको सेवामा खटिन रास्वपा नेता–कार्यकर्तालाई रञ्जय यादवको निर्देशन

 

पर्सा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिन्दवासिनी गाउँपालिका स्तरीय बैठक सम्पन्न भएको छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोजित बैठकमा पार्टीको सङ्गठनलाई तल्लो तहसम्म सुदृढ बनाउने, सुशासन कायम गर्ने तथा जनताका समस्या समाधानका लागि सक्रिय रूपमा खटिने विषयमा छलफल गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै युवा नेता रञ्जय यादवले सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक रूपान्तरण रास्वपाका प्रमुख एजेन्डा रहेको बताउनुभयो। उहाँले निर्वाचनमा उम्मेदवारी दिनका लागि फाराम भर्दैमा राजनीति सफल नहुने उल्लेख गर्दै समाज, टोल, गाउँ तथा पालिकामा रहेका विकृति–विसङ्गति उजागर गर्न र जनताका समस्या समाधानका लागि अग्रसर हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।

यादवले पार्टीको उद्देश्य सत्ता र पद प्राप्तिमा मात्र सीमित नभई समाजमा विद्यमान भ्रष्टाचार, अन्याय र बेथितिविरुद्ध आवाज उठाउनु रहेको बताउनुभयो। निर्वाचनमा जित हासिल गरे पनि नगरे पनि जनताको सेवामा निरन्तर खटिनुपर्नेमा जोड दिँदै उहाँले स्थानीय स्तरमा हुने अनियमितता र अन्यायविरुद्ध मौन बस्न नहुने धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “हामी जिते पनि वा नजिते पनि जनताको सेवामा निरन्तर खटिनुपर्छ। हाम्रो पार्टी सत्ता वा पदका लागि मात्र होइन, समाजका विकृति, भ्रष्टाचार र बेथितिविरुद्ध लड्नका लागि बनेको हो। गाउँ–ठाउँमा भइरहेका भ्रष्टाचार र अन्यायविरुद्ध आँखा चिम्लेर बस्ने छुट कसैलाई छैन।”

बैठकमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य रमाकान्त चौरसिया, रास्वपा बिन्दवासिनी गाउँपालिका सभापति बिनोद कुमार चौरसिया, सचिव सुजित कुमार साह, विशाल पासवान, शिवनारायण कुशवाहालगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।

बैठकमा सहभागी अन्य वक्ताहरूले बिन्दवासिनी गाउँपालिकाभित्रका सडक, शिक्षा, स्वास्थ्य, ढल तथा नाला व्यवस्थापन र स्वच्छ पिउने पानीजस्ता आधारभूत समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले स्थानीय सरकारलाई जनताप्रति जवाफदेही बनाउन तथा विकास निर्माणका काममा पारदर्शिता सुनिश्चित गर्न पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए।

बैठकमा स्थानीय तहमा देखिएका समस्या पहिचान गर्ने, जनताका गुनासा सम्बन्धित निकायसम्म पुर्‍याउने र सुशासनका पक्षमा निरन्तर आवाज उठाउने विषयमा जोड दिइएको थियो। साथै, आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै पार्टीको सङ्गठन विस्तार तथा जनतासँगको सम्बन्ध थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित