वीरगञ्ज, असोज १६ गते।
पर्साको जगरनाथपुर गाउँपालिका–६, बहुअरीस्थित धर्मशालामा आयोजित निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित भएका छन्। शिविरमा आँखा परीक्षण गरिएका ६३ जनामा मोतियाबिन्दुको लक्षण देखिएको आयोजकले जनाएको छ।
दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जागरण मञ्चको आयोजनामा तथा सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो। मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा आयोजित शिविरमा १८७ जनाको आँखा परीक्षण गरिएको थियो।

आँखा परीक्षणका क्रममा मोतियाबिन्दुको लक्षण देखिएका ६३ जनामध्ये आवश्यक उपचारका लागि बिरामीहरूलाई सामुदायिक आँखा केन्द्रमा पठाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। त्यस्तै, ३४ जनालाई आवश्यकताअनुसार औषधि तथा आँखामा प्रयोग गर्ने ड्रप उपलब्ध गराएर घर पठाइएको थियो।
शिविरमा मोतियाबिन्दुको लक्षण देखिएका बिरामीहरूको यही असोज १९ गते सोमबार वीरगञ्जस्थित सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो। बिरामीहरूलाई उपचारका लागि आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले बहुअरीदेखि वीरगञ्जसम्म निःशुल्क बस सेवासमेत उपलब्ध गराइने उहाँले बताउनुभयो।
शिविरमा डा. महेश सिंह घामी, शिविर संयोजक राजेश चौधरीलगायत युनिटका सदस्यहरूको उपस्थिति थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश शिक्षा विभाग प्रमुख सोनालाल पटेल, मधेश प्रदेश संगठन विभागका उपप्रमुख प्रमोद सहनी, युवा नेता शैलेस साह, सुनिल चौरसिया, दिनेश साह, उदय पटेल, रुपेश यादव, राकेश यादव, कमलेश चौधरी, सूरज राम, हीरालाल राम, अनिता देवी, नगिना साहलगायत स्थानीयवासीको सहभागिता रहेको थियो।
स्थानीयस्तरमै निःशुल्क आँखा परीक्षण तथा उपचारको सुविधा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरले आर्थिक अवस्था कमजोर भएका तथा आँखा सम्बन्धी समस्या भएका स्थानीयवासीलाई राहत पुर्याएको आयोजकले जनाएको छ।









