हरिकिशोर शर्मा / असोज १० जिराभवानी, पर्सा ।
पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको छ।
क्लबले शुक्रबार सेढवामा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी असोज २४ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो।
जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै प्रतियोगितामा विभिन्न भेट्रान खेलाडी तथा टोलीहरूको सहभागिता रहने बताउनुभयो।
प्रतियोगिताको फाइनलमा प्रथम हुने टोलीलाई नगद ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो।
प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सफल बनाउन क्लबले आवश्यक तयारी तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ। स्थानीयस्तरमा खेलकुदको विकाससँगै भेट्रान खेलाडीहरूबीच आपसी भाइचारा र प्रतिस्पर्धात्मक भावना बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।









