ग्रामीण क्षेत्रमै BBA र BPAM अध्ययनको अवसर, पंचगावा बहुमुखी क्याम्पसमा स्नातक तह सञ्चालन

 

पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर (औराहा) पंचगावास्थित श्री दिपनारायण आदर्श नमुना माध्यमिक विद्यालय परिसरमा रहेको दिपनारायण पंचगावा बहुमुखी क्याम्पसमा BBA तथा BPAM कार्यक्रम सञ्चालनमा आएको छ।

क्याम्पस प्राध्यापक शिवनाथ प्रसाद थारुका अनुसार मधेश विश्वविद्यालय, वीरगञ्जबाट मान्यता प्राप्त गरी क्याम्पसमा Bachelor of Business Administration (BBA) र Bachelor of Public Administration and Management (BPAM) अध्ययन कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

ग्रामीण क्षेत्रका विद्यार्थीलाई आफ्नै गाउँठाउँमा उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले स्नातक तहका यी कार्यक्रम सञ्चालनमा ल्याइएको क्याम्पसले जनाएको छ। वीरगञ्ज महानगरपालिकाबाहेक पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा स्नातक तहको अध्ययनको अवसर विस्तार गर्ने उद्देश्यले क्याम्पसले नयाँ कार्यक्रम सुरु गरेको प्राध्यापक थारुले बताए।

क्याम्पस प्रमुख थारुका अनुसार ग्रामीण क्षेत्रका विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि वीरगञ्जलगायतका सहरमा जानुपर्ने बाध्यताका कारण यातायात, बसोबास, खाना तथा अन्य खर्चको अतिरिक्त आर्थिक भार व्यहोर्नुपर्ने अवस्था छ। त्यसलाई मध्यनजर गर्दै स्थानीय विद्यार्थीले तुलनात्मक रूपमा न्यून खर्चमा आफ्नै गाउँनजिकै BBA र BPAM अध्ययन गर्न सक्ने व्यवस्था गरिएको उनले बताए।

“सहरमा गएर अध्ययन गर्नुपर्ने बाध्यताका कारण धेरै विद्यार्थीले चाहेर पनि स्नातक तहको शिक्षा लिन सकिरहेका छैनन्। विद्यार्थी र अभिभावकको आर्थिक अवस्थालाई ध्यानमा राखेर गाउँमै गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्‍याउने हाम्रो उद्देश्य हो,” प्राध्यापक थारुले बताए।

क्याम्पसले टाढाटाढाबाट आउने विद्यार्थीलाई लक्षित गर्दै यातायातका लागि बस सेवा सञ्चालन गर्ने तयारीसमेत गरिरहेको जनाएको छ। यसबाट सखुवा प्रसौनी गाउँपालिकासहित आसपासका पालिका तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई समेत सहज हुने अपेक्षा गरिएको छ। श्रीपुर पंचगावा अर्थात् औराहा पंचगावा ग्रामीण क्षेत्रकै महत्वपूर्ण शैक्षिक केन्द्रका रूपमा विकास हुँदै गएको क्याम्पसको भनाइ छ। घरनजिकै स्नातक तह अध्ययन गर्न सकिने भएपछि स्थानीय विद्यार्थी तथा अभिभावकलाई आर्थिक तथा समयको बचत हुने क्याम्पसले जनाएको छ।

क्याम्पस प्रमुख थारुका अनुसार BBA तथा BPAM का कक्षाहरू अनुभवी तथा विषयगत दक्ष प्राध्यापकमार्फत सञ्चालन गरिने तयारी गरिएको छ। विद्यार्थीलाई नियमित कक्षा, व्यवहारिक ज्ञान तथा व्यवस्थापन र प्रशासनसँग सम्बन्धित सीप प्रदान गर्ने गरी शैक्षिक वातावरण तयार पारिने उनले बताए।

BBA कार्यक्रमले व्यवसाय, व्यवस्थापन, बैंकिङ, वित्त, उद्यमशीलता तथा निजी क्षेत्रसँग सम्बन्धित क्षेत्रमा विद्यार्थीलाई आवश्यक शैक्षिक आधार प्रदान गर्नेछ भने BPAM मार्फत सार्वजनिक प्रशासन, व्यवस्थापन तथा सरकारी तथा गैरसरकारी क्षेत्रमा आवश्यक ज्ञान र सीप विकासमा जोड दिइने क्याम्पसले जनाएको छ।

क्याम्पसले ग्रामीण क्षेत्रका विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई आफ्नै ठाउँमा उपलब्ध स्नातक तहको अवसरको उपयोग गर्दै समयमै भर्ना हुन आग्रह गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित