पर्सा । जगरनाथपुर गाउँपालिका–४, जगरनाथपुरमा आयोजित निःशुल्क आँखा शिविरबाट २६३ जना लाभान्वित भएका छन्।
तिलगंगा हेटौँडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा सामाजिक संस्था दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा जगरनाथपुरस्थित ब्रिलियन्ट मोडल इङ्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा शिविर सम्पन्न भएको हो।
शिविरमा अस्पतालकी नेत्र अधिकृत रमा महत, नेत्र सहायक तारकेश्वर चौधरी, कम्प्युटर अपरेटर आरुस स्याङ्ताङलगायतको स्वास्थ्यकर्मी टोलीले सेवाप्रवाह गरेको थियो। कार्यक्रममा बोर्डिङ स्कुलका सञ्चालक अब्दुल कयूम, मुकेश राम, ठाकुर प्रसाद चौधरी, डा. प्रद्युम्न चौधरीलगायत स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिविरमा कुल २६३ जनाको आँखा परीक्षण गरिएकोमा ६९ जनामा मोतियाबिन्दुको समस्या देखिएको आयोजकले जनाएको छ। त्यस्तै, आवश्यकताअनुसार ५३ जनालाई औषधि (ड्रप) उपलब्ध गराई घर पठाइएको थियो।
मोतियाबिन्दु देखिएका ६९ जना बिरामीलाई यही असोज ७ गते बुधबार आयोजकको आफ्नै सवारीसाधनमार्फत हेटौँडा सामुदायिक आँखा अस्पताल लगिने र त्यहाँ पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ। शल्यक्रियापछि बिरामीलाई असोज ९ गते शुक्रबार बिहानै पुनः घर फर्काउने योजना रहेको आयोजकले जनाएको छ।
शिविरले आर्थिक अवस्था कमजोर भएका तथा सहज रूपमा आँखा उपचारको पहुँचमा पुग्न नसकेका स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुगेको आयोजकको भनाइ छ।









