काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहले चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार एयरवेजको विमानबाट दोहा हुँदै न्युयोर्क प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहले आगामी असोज ८ गते (सेप्टेम्बर २४) संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी रहेको छ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै न्युयोर्क पुगिसकेका छन्। उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउने र विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको सामान्य बहस सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुँदैछ।









