पर्सा । जगरनाथपुर गाउँपालिका–३, खलुचडीका युवा फुटबल खेलाडीलाई समाजसेवी बृजेश्वर प्रसाद चौधरीले खेलकुद सामग्री सहयोग गरेका छन्।
चौधरीले स्थानीय युवा खेलाडीका लागि १२ थान जर्सी सेट उपलब्ध गराएका हुन्। यसअघि पनि उनले करिब दुई साताअघि खेलाडीहरूलाई एक थान फुटबल सहयोग गरेका थिए।
फुटबल तथा जर्सीका लागि खेलाडीहरूले विभिन्न व्यक्तिसँग सहयोगको आग्रह गरे पनि अपेक्षित सहयोग प्राप्त हुन नसकेपछि आफूले सहयोग गर्न अग्रसर भएको चौधरीले बताए।
युवा खेलाडीलाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरिएको उल्लेख गर्दै चौधरीले आगामी दिनमा खलुचडीका युवामध्ये केही खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो करियर बनाउन सफल हुने विश्वास व्यक्त गरे।
उनले युवाहरूलाई सकारात्मक गतिविधिमा सक्रिय बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग र प्रोत्साहन जारी राख्ने प्रतिबद्धता जनाए।
समाजसेवी चौधरीको सहयोगपछि स्थानीय युवा फुटबल खेलाडीहरूले खुशी व्यक्त गर्दै खेलकुदप्रति थप उत्साह र प्रेरणा मिलेको बताएका छन्।









