काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमार्फत नामावली सार्वजनिक गर्दै विवरण सच्याउन तथा दाबी–विरोध दर्ता गर्न असोज १२ गतेसम्मको समय दिएको छ।
आयोगका अनुसार सार्वजनिक गरिएको प्रारम्भिक मतदाता नामावलीमा गत भदौ १५ गतेसम्म नाम दर्ता गराएका मतदाताको विवरण समावेश गरिएको छ। मतदाता नामावलीमा आफ्नो नाम, थर, जन्ममिति वा अन्य विवरणमा त्रुटि भए सम्बन्धित मतदाताले आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिएर सच्याउन सक्नेछन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था रहेको जानकारी दिए।
‘अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था छ,’ घिमिरेले भने, ‘त्यसैले असोज १ गतेदेखि १२ गतेभित्र आयोगको वेबसाइटमा आफ्नो विवरण हेरेर कुनै त्रुटि भए समयमै सच्याउनका लागि अनलाइनमार्फत निवेदन दिन सबै मतदातामा अनुरोध गरिएको छ।’
आयोगले हाल दुई विधिमार्फत मतदाता नामावली संकलन तथा अद्यावधिक गर्दै आएको छ। राष्ट्रिय परिचयपत्र (एनआईडी) मा आबद्ध भइसकेका मतदाताले अनलाइन प्रणालीमार्फत आफ्नो तस्बिर तथा बायोमेट्रिक विवरण पेश गर्न सक्नेछन्। राष्ट्रिय परिचयपत्रमा आबद्ध नभएका नागरिकले भने सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर आवश्यक विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
आयोगले तोकेको समयावधि व्यक्तिगत विवरण सच्याउने मात्र नभई मतदाता नामावली शुद्धीकरणका लागि समेत प्रयोग गरिने जनाएको छ। कुनै व्यक्ति मतदाता हुन योग्य नभएको अवस्थामा पनि नामावलीमा नाम समावेश भएको भए त्यस्तो नाम हटाउन उजुरी वा निवेदन दिन सकिनेछ।
त्यस्तै, नागरिकता त्याग गरिसकेका व्यक्तिको नाम मतदाता नामावलीमा कायम रहेको भए त्यसबारे पनि यही अवधिभित्र आयोगसमक्ष जानकारी गराउन सकिनेछ।
आयोगका अनुसार असोज १२ गतेसम्म प्राप्त हुने निवेदन, दाबी तथा विरोधमाथि आवश्यक छानबिन गरिनेछ। छानबिनपछि आवश्यक प्रक्रिया पूरा गरी मतदाता नामावलीलाई अन्तिम रूप दिइने आयोगले जनाएको छ।
आयोगले सबै मतदातालाई आफ्नो नाम तथा विवरण प्रारम्भिक मतदाता नामावलीमा भए–नभएको जाँच गर्न र त्रुटि देखिए तोकिएको समयभित्र सच्याउन आग्रह गरेको छ।









