१३ देशका लागि राजदूत सिफारिस

काठमाडौं, असोज २ । सरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बैठकले विभिन्न क्षेत्रको विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्वको अनुभव भएका व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारको निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरिएको छ।

त्यस्तै, बेलायतका लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरवशमशेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई राजदूतका रूपमा सिफारिस गरिएको छ।

जर्मनीका लागि शरु जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि मञ्चला झा तथा साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस भएको छ।

सरकारले सिफारिस गरेका नामहरू अब संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउने प्रक्रिया अघि बढाउनेछ। संसदीय सुनुवाइ पूरा भएपछि सम्बन्धित मुलुकबाट सहमति लिन ‘एग्रिमो’ पठाइनेछ।

सम्बन्धित देशबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित