काठमाडौँ । नापी कार्यालय धनुषाले नापजाँच सम्पन्न भएको करिब पाँच वर्षपछि धनुषाको सवैला नगरपालिका–८ (साविक ठिला गाउँ विकास समिति) का ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समयदेखि रोकिएको थियो।
नाप नक्सा भइसकेका जग्गाको बाँकी आवश्यक प्रक्रिया पूरा गरी ३८५ थान जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाले जनाएको छ। पुर्जा प्राप्त भएपछि वर्षौंदेखि आफ्नो जग्गाको स्वामित्वका लागि पर्खिरहेका स्थानीय परिवारलाई कानुनी रूपमा जग्गाधनी बन्ने बाटो खुलेको छ।
स्थानीय तहमा बसोबास गर्दै आएका स्ववासी परिवारलाई जग्गाको कानुनी स्वामित्व प्रदान गर्ने प्रक्रियाअन्तर्गत पुर्जा वितरण गरिएको हो। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि स्थानीयवासीमा समेत उत्साह देखिएको छ।
यसअघि सवैला नगरपालिकाका वडा नं. ४, ५, ६ र १० मा गरी ३ हजार २२६ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो। पछिल्लो पटक वडा नं. ८ का थप ३८५ परिवारले पुर्जा पाएसँगै नगरपालिकाका विभिन्न वडामा जग्गा स्वामित्वलाई कानुनी रूप दिने प्रक्रिया थप अघि बढेको छ।









