पाणेपुरमा निःशुल्क आँखा शिविर, १७२ जनाको परीक्षण

वीरगञ्ज । जगरनाथपुर गाउँपालिका–१ पाणेपुरस्थित मदरसामा आयोजित निःशुल्क आँखा शिविरबाट १७२ जना लाभान्वित भएका छन्। दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा सामुदायिक आँखा अस्पताल वीरगञ्जको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।
मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न शिविरमा सामुदायिक आँखा अस्पतालका शिविर संयोजक राजेश चौधरीसहितको प्राविधिक टोलीले स्थानीयवासीको आँखा परीक्षण गरेको थियो।
शिविरमा पिपरडाढी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामलखन चौरसिया, समाजसेवी शिवजी शाह कलवार, पन्नालाल पटेल, शहरुम राउत गद्दी, सोनु मिश्रा, डा. प्रद्युम्न चौधरी, कृष्णा शाहलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।
शिविरमा कुल १७२ जनाको आँखा परीक्षण गरिएकोमा ४२ जनामा मोतियाबिन्दुको समस्या देखिएको आयोजकले जनाएको छ। परीक्षणका क्रममा आवश्यकताअनुसार ३८ जनालाई औषधि तथा आई ड्रप उपलब्ध गराई घर पठाइएको थियो।
मोतियाबिन्दु देखिएका ४२ जना बिरामीलाई यही हप्ता शनिबार अर्थात् १३ गते वीरगञ्जस्थित सामुदायिक आँखा अस्पतालमा लगेर निःशुल्क शल्यक्रिया गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई घरआँगनमै सहज रूपमा आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ। शिविरबाट स्थानीयवासीले निःशुल्क आँखा परीक्षण, औषधि तथा आवश्यक उपचारसम्बन्धी परामर्श पाएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित