पटनामा कानु समाजको भव्य सम्मान समारोह, मुख्यमन्त्री सम्राट चौधरी सम्मानित

 

पटना (भारत), साउन १६ । कानु समाजको आयोजनामा पटनास्थित श्रीकृष्ण मेमोरियल हलमा सम्पन्न भव्य सम्मान समारोहमा बिहारका मुख्यमन्त्री सम्राट चौधरीलाई सम्मान गरिएको छ। समारोहमा बिहारका विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका करिब १० हजारभन्दा बढी कानु समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले मुख्यमन्त्री चौधरीलाई फूलमाला र सम्मानपत्र प्रदान गर्दै भव्य स्वागत तथा सम्मान व्यक्त गरेका थिए। समुदायका अगुवाहरूले कानु समाजको एकता, सामाजिक उत्थान तथा विकासमा सरकारको सहयोगप्रति विश्वास व्यक्त गरेका थिए।

समारोहका प्रमुख संरक्षक बिहार सरकारका पर्यटन मन्त्री केदार प्रसाद गुप्ता रहेका थिए। कार्यक्रममा कानु कल्याण महासभाका राष्ट्रिय अध्यक्ष मुनेश्वर प्रसाद कानु, उपाध्यक्ष चन्द्रशेखर साह, महामन्त्री अशोककुमार गुप्ता, सचिव अरुण किरण साहु, सचिव निरजकुमार माधेशिया तथा संगठन सचिव एवं सामाजिक सञ्जाल संयोजक शंकरप्रसाद कानुलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी विजय कुमार साह, किरण कुमारीसहित समुदायका विशिष्ट व्यक्तित्व र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा वक्ताहरूले कानु समुदायको शिक्षा, सामाजिक सशक्तीकरण, आर्थिक उन्नति तथा अधिकार सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले समुदायको एकता र विकासका लागि यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।

आयोजकका अनुसार समारोह सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित