काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गरेका छन्। भारत भ्रमणमा रहेका लामिछाने र मोदीबीच भएको भेटमा नेपाल–भारत सम्बन्ध तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ।
भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गरेका छन्। उनले साझा र समृद्ध भविष्य निर्माणका लागि मिलेर काम गर्ने लामिछानेको इच्छाको स्वागत गरेको उल्लेख गरेका छन्।
मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत प्राथमिकता प्राप्त साझेदार राष्ट्रका रूपमा रहेको उल्लेख गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन भारत नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन्।
भारत भ्रमणका क्रममा लामिछानेलाई सोमबार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियो। उक्त अवसरमा दुवै पक्षबीच राजनीतिक अनुभव आदानप्रदान तथा आपसी सम्बन्ध विस्तारका विषयमा पनि छलफल भएको जनाइएको छ।
यसैक्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाह सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भेटमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्य तथा साझा चासोका विषयमा विचार आदानप्रदान भएको बताइएको छ।
भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ १८ गते भारत प्रस्थान गरेको थियो। प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।
रास्वपाले भ्रमणलाई नेपाल–भारत सम्बन्धका विभिन्न आयाममा संवाद विस्तार गर्ने तथा राजनीतिक तहमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा लिएको जनाएको छ। दुई देशका नेताबीच भएका पछिल्ला भेटघाटले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








