भारत सरकारको सहयोगमा रौतहटमा विद्यालय तथा पुस्तकालय भवन निर्माणको शिलान्यास

 

रौतहट । भारत सरकारको आर्थिक सहयोगमा रौतहट जिल्लाको राजदेवी नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालयको विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्यको शिलान्यास गरिएको छ।

मंगलबार आयोजित कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीणा र राजदेवी नगरपालिकाका प्रमुख भिखारी प्रसाद यादवले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरेका हुन्।

उक्त परियोजना भारत सरकारको करिब २ करोड ८४ लाख नेपाली रुपैयाँ (एनआरएस २८.४ मिलियन) आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। यो आयोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत सञ्चालन गरिने जनाइएको छ।

निर्माण हुने नयाँ भवन दुई तले हुनेछ, जसमा आठ वटा कक्षाकोठा, छात्र तथा छात्राका लागि छुट्टाछुट्टै शौचालय, सेप्टिक ट्याङ्की, सोक पिट, ट्युबवेल, विद्युत् तथा सरसफाइका आवश्यक संरचना लगायतका सुविधा रहनेछन्।

परियोजनाको कार्यान्वयन राजदेवी नगरपालिकामार्फत गरिनेछ। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगप्रति आभार व्यक्त गरेका थिए।

भारत र नेपालबीचको घनिष्ठ छिमेकी सम्बन्ध तथा विकास साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सञ्चालन गरिएका यस्ता परियोजनाले शिक्षा तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित