अभिलाष गुप्ता
वीरगंज ०२ बैशाख
मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका चुनौती तथा सरोकारवालाहरूको भूमिकाबारे केन्द्रित एक महत्वपूर्ण छलफल कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ। उक्त कार्यक्रम को क्याप (CoCAP) को आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा “साथ–साथ सिकाइ सञ्जाल” का संयोजक तथा दलित महिला संघ पर्साकी कार्यकारी निर्देशक निला रामले प्रस्तुतिकरण दिँदै मानव अधिकार रक्षकहरूले सामना गरिरहेका समस्याहरू, विशेषगरी महिला तथा किशोरीसँग सम्बन्धित हिंसा, विभेद र सुरक्षाका सवालहरूबारे प्रकाश पार्नुभयो।
य
छलफलमा को क्यापकी अन्जु कंडेल, संरक्षण अधिकृत पबित्रा कार्की, नारायणी अस्पताल वीरगञ्जकी प्रसूति गृह प्रमुख हेमा थापा, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी महिलाहरूले पीडित महिला तथा किशोरीहरूको सुरक्षाका लागि सुरक्षित आवास (सेफ हाउस/सेफ होम) को अभाव प्रमुख चुनौतीको रूपमा रहेको बताएका थिए। उनीहरूले सबैभन्दा पहिले सुरक्षित आवासको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै, त्यस्तो व्यवस्था भएपछि हिंसापीडित किशोरी तथा बालबालिकालाई संरक्षण र पुनर्स्थापनामा सहजता हुने धारणा राखे।
यसैगरी, सरोकारवालाबीच समन्वय, सचेतना अभिवृद्धि तथा प्रभावकारी नीति कार्यान्वयनमार्फत मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो। कार्यक्रमले मानव अधिकार रक्षकहरूको सुरक्षा, सशक्तीकरण र संस्थागत सहयोगका लागि थप पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ।









