पर्सा राष्ट्रिय निकुञ्जको घना जङ्गलबीच दुग्धेश्वरनाथ महादेव (भाथा धाम) मा: तेरसको भव्य धार्मिक मेला 

 

हरिकिशोर शर्मा / बैशाख २ जिराभवानी पर्सा ।

पर्सा राष्ट्रिय निकुञ्जको मध्यभागमा पर्ने घना जङ्गल र चुरे पहाडको टाकुरामा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल श्री श्री १०८ श्री बाबा दुग्धेश्वरनाथ महादेव मन्दिर (रामभौरी भाथा धाम) मा वैशाख तेरसको अवसरमा आयोजना गरिएको तीन दिने भव्य धार्मिक मेला बुधबार साँझसम्म सम्पन्न भएको छ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ मा अवस्थित उक्त धार्मिक स्थलमा सोमबारदेखि सुरु भएको मेलामा नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको मेला व्यवस्थापन समितिले जनाएको छ। मंगलबारदेखि नै दर्शन तथा पूजाआजाका लागि मन्दिर परिसरमा भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो।

धार्मिक विश्वासअनुसार वैशाख त्रयोदशी (तेरस) का दिन भगवान शिवको दर्शन गरी भाकल पूरा गर्ने परम्परा रहिआएको छ। यही आस्थाका कारण प्रत्येक वर्ष यस अवसरमा भक्तजनहरू दुग्धेश्वरनाथ महादेव मन्दिर पुग्ने गरेका छन्।

पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पर्ने यो धार्मिक स्थल हाल विस्तारित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ। पछिल्ला वर्षहरूमा भारतका प्रसिद्ध शिवधामहरू — केदारनाथ, बद्रीनाथ, काशी विश्वनाथ, महाकालेश्वर र सोमनाथ जाने तीर्थयात्रीहरू समेत नजिकैको प्रमुख शिवतीर्थस्थलका रूपमा भाथा धाममा दर्शन गर्न आउने क्रम बढ्दो रहेको स्थानीयहरूले बताएका छन्।

विशेषगरी पर्सा, बारा तथा भारतको बिहार राज्यका विभिन्न जिल्लाबाट ठूलो संख्यामा श्रद्धालुहरू मेलामा सहभागी भएका थिए। मेला अवधिभर भक्तजनहरूको आवतजावतले मन्दिर परिसर तथा आसपासको क्षेत्र निकै चहलपहलपूर्ण बनेको थियो।

मन्दिरमा वर्षमा चार पटक विशेष मेला लाग्ने परम्परा रहेको छ। साउन महिनाभर सञ्चालन हुने श्रावणी मेला, माघ महिनाको वसन्त पञ्चमी, फागुनको महाशिवरात्री तथा वैशाख त्रयोदशीका दिन विशेष धार्मिक मेला आयोजना हुँदै आएको छ। तीमध्ये साउन महिनाको मेला सबैभन्दा ठूलो, ऐतिहासिक र भव्य मानिने गरिएको छ।

घना जङ्गलभित्र अवस्थित मेलास्थल भएकाले जङ्गली जनावरको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो। मेला अवधिभर शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकाय परिचालन गरिएको थियो। पटेर्वा सुगौली र सखुवा प्रसौनी गाउँपालिकाले आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै दुईवटा जेसीबी तयारी अवस्थामा राखेका थिए।

स्थानीय लालबहादुर यादवका अनुसार परापूर्वकालदेखि नै साउन महिनाभर भक्तजनहरू आफ्ना पूर्वजहरूको नाममा जल अर्पण गर्न यहाँ आउने परम्परा रहिआएको छ। उनले राजतन्त्रकालमा समेत उच्च पदस्थ व्यक्तिहरू हेलिकप्टरमार्फत दर्शन गर्न आउने गरेको इतिहास रहेको बताए। मन्दिर नजिकै पहाड काटेर निर्माण गरिएको हेलिप्याड अहिले पनि यथावत रहेको उनको भनाइ छ।

एक दशकअघि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र विस्तार भएपछि भाथा गाउँ अन्यत्र स्थानान्तरण गरिएको थियो। मेला व्यवस्थापन समिति सदस्य जय भोले परिचित यादवका अनुसार निकुञ्ज विस्तारपछि प्रत्येक मेलामा सेनासँग अनुमति तथा व्यवस्थापनसम्बन्धी समस्या आउने गरेकाले भाथा धाम अपेक्षित रूपमा विकास हुन नसकेको गुनासो छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले मेला व्यवस्थापन समितिसँग स्थलगत भेटघाट गरी सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए। मेलामा कुनै पनि अप्रिय घटना नघटेको र शान्ति सुरक्षा पूर्ण रूपमा कायम रहेको उनले जानकारी दिए।

दर्शनार्थीहरूको सुविधालाई ध्यानमा राख्दै ठूलो धर्मशाला, स्थायी शौचालय तथा पाइपमार्फत खानेपानीको व्यवस्था गरिएको छ। भक्तजनहरूका लागि मन्दिर परिसरदेखि धर्मशाला हुँदै पार्किङ स्थलसम्म ५० वटा खानेपानीका धारा जडान गरिएको युवा समाजसेवी मुकेश गौरोले जानकारी दिए।

भक्तिभाव, श्रद्धा, धार्मिक आस्था तथा सांस्कृतिक उत्सवले भरिएको भाथा धाम अहिले धार्मिक केन्द्रका साथै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिन्छ। धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रको संरक्षण, प्रचारप्रसार तथा पूर्वाधार विकासमा सम्बन्धित निकायको थप ध्यान आवश्यक रहेको स्थानीयवासीहरूको भनाइ छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित