हरिकिशोर शर्मा / चैत २९ जिराभवानी पर्सा
पर्साको जिराभावानी गाउँपालिका–४ का वडाध्यक्ष राजेश्वर दास थारुले आफूमाथि लागेको कुटपिट तथा दुव्र्यवहारको आरोप अस्वीकार गरेका छन्।
आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले भाउजु सुगान्धि देवी र भतिजी जानकी कुमारीमाथि कुनै पनि प्रकारको कुटपिट वा दुर्व्यवहार नगरेको स्पष्ट पारे।
उनका अनुसार शनिबार दिउँसो करिब ३ बजेतिर खेतमा गहुँबाली भित्र्याउने विषयमा विवाद भएको भए पनि आफू उक्त घटनास्थलमा उपस्थित नरहेको दाबी गरेका छन्। साथै, आफूविरुद्ध लगाइएको जबर्जस्ती करणी प्रयासको आरोपसमेत पूर्ण रूपमा असत्य रहेको उनले बताएका छन्।
वडाध्यक्ष थारुले पर्याप्त तथ्य नबुझी सञ्चारमाध्यममा समाचार प्रकाशन हुँदा आफ्नो चरित्रहत्या भएको भन्दै असन्तुष्टि व्यक्त गरे। यसैक्रममा वडा सचिव महेश राउत कुर्मीले पनि झुटा आरोपमार्फत वडाध्यक्षलाई फसाउन खोजिएको टिप्पणी गरेका छन्।
परिवारभित्र अंशबण्डा तथा खेतीपातीको विषयलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको बताइएको छ। वडाध्यक्षका स्वर्गीय दाइ ब्रह्मानन्द दास थारुका दुई श्रीमतीबाट जन्मिएका सन्तानबीच जग्गा उपयोग र अंशबण्डाको विषय अदालतमा विचाराधीन रहेको छ।
पीडित सुगान्धि देवीले वडाध्यक्ष थारुले घरमै प्रवेश गरी आफूलाई कुटपिट गर्नुका साथै अनुचित व्यवहार गर्न खोजेको आरोप लगाएकी छन्। उनले घटनापछि आफू असुरक्षित महसुस गरिरहेको बताउँदै दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्।
पीडित पक्षका अनुसार जमिनसम्बन्धी विवादकै कारण दबाब सिर्जना गर्न यस्तो घटना भएको दाबी गरिएको छ। स्थानीय बासिन्दाहरूले पनि घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।सुगान्धि देवीले हाल करिब ६ बिघा जमिनमा खेती गर्दै आएकी छन् भने छोरीहरूको विवाहका क्रममा केही जग्गा शोधभर्ना राखिएको बताइएको छ।
गत कार्तिकमा प्रहरी चौकी सुपौलीमा भएको सहमतिअनुसार धानबाली सुगान्धिले र गहुँबाली अन्य पक्षले लिने सहमति भए पनि सोही विषयमा पुनः विवाद उत्पन्न भएको जनाइएको छ।परिवारका ज्येष्ठ सदस्य लक्ष्मी दास थारुले अंशबण्डा सम्बन्धी मुद्दा टुंगो नलागेसम्म सबै पक्ष मिलेर बस्नुपर्ने सुझाव दिएका छ्न ।









