रक्सौल (बिहार)
इन्स्पेक्टर मनोज कुमार शर्माको मानवीय पहलका कारण करिब दुई वर्षदेखि परिवारबाट बिछडिएकी एक वृद्ध महिलाको अन्ततः परिवारसँग पुनर्मिलन गराइएको छ।
सन् २०२४ मे १ तारिख राति करिब ११:३५ बजे भारत–नेपाल सीमाक्षेत्रको हाजमा टोल नजिकै गस्तीका क्रममा इन्स्पेक्टर शर्माले सडकछेउको झाडीमा अत्यन्त दयनीय अवस्थामा बसेकी एक वृद्ध महिलालाई फेला पारेका थिए। उनको अवस्था र व्यवहार हेर्दा मानसिक रूपमा अस्वस्थ रहेको देखिएपछि उनले तत्काल आफ्नो टोलीलाई बोलाई सुरक्षित रूपमा उद्धार गरेका थिए।
उद्धारपछि ती महिलालाई रक्सौलस्थित ‘माहेर ममता निवास’ नामक गैरसरकारी संस्थामा राखेर उपचारको व्यवस्था गरियो। त्यहाँको निरन्तर हेरचाह र डंकन अस्पतालमा गरिएको उपचारपछि महिलाको स्वास्थ्यमा सुधार आएको थियो।
स्वास्थ्य सुधार भएपछि महिलाको स्मृति क्रमशः फर्किँदै जाँदा उनले आफ्नो घरपरिवार र क्षेत्रको बारेमा जानकारी दिएकी थिइन्। त्यसपछि सम्बन्धित प्रहरी कार्यालयसँग समन्वय गरी उनको परिवारसम्म सूचना पुर्याइएको थियो।
परिवारका सदस्यहरूले बताएअनुसार सन् २०२४ अप्रिलमा खेतबाट फर्किँदा उनकी आमा घरबाट हराएकी थिइन्। लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि उनीहरू निराश बनेका थिए।
अन्ततः २०२६ अप्रिल ५ मा वृद्ध महिलालाई उनका भाइ जयपाल गोंडलाई हरैया थाना अध्यक्ष किशन पासवानको उपस्थितिमा औपचारिक रूपमा जिम्मा लगाइएको थियो। त्यसपछि उनी मध्यप्रदेशको अनूपपुर जिल्लास्थित आफ्नो गाउँ मेनटोला फर्किएकी छन्।
यस उद्धार तथा पुनर्मिलन कार्यमा इन्स्पेक्टर मनोज कुमार शर्मा, उपनिरीक्षक अनिल कुमार शर्मा, कांस्टेबल जितेन्द्र, महिला कांस्टेबल टीनू कुमारी, महिला कांस्टेबल पिंकी कुमारी तथा माहेर ममता निवासका प्रोटेक्टर इन्चार्ज वीरेन्द्र कुमार र महिला इन्चार्ज सुप्रिया बोदरा लगायतको महत्वपूर्ण भूमिका रहेको थियो।
यो घटना मानवीय संवेदना, कर्तव्यनिष्ठा र सामाजिक जिम्मेवारीको उत्कृष्ट उदाहरणका रूपमा लिइएको छ।









