काठमाडौं । नेपाल नर्सिङ परिषद्को रिक्त सदस्य पदमा चार जना नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्टलाई परिषद्को सदस्यमा नियुक्त गरेको हो।
नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त सदस्यहरूलाई शपथ गराएकी हुन्।
नेपाल नर्सिङ परिषद् नर्सिङ तथा मिडवाइफरी पेशाको नियमन, व्यावसायिक मर्यादा कायम तथा सेवाको गुणस्तर सुनिश्चित गर्ने महत्वपूर्ण निकायका रूपमा रहेको छ। परिषद्मा नयाँ सदस्यहरूको नियुक्तिसँगै नर्सिङ तथा मिडवाइफरी क्षेत्रको नियमन र विकासका कार्यमा थप गति आउने अपेक्षा गरिएको छ।
शपथ ग्रहणपछि नवनियुक्त सदस्यहरूले देशको नर्सिङ तथा मिडवाइफरी क्षेत्रको विकास, व्यावसायिक सुदृढीकरण तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।








