आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह

पवन साह Avatar
आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह
जनकपुरधाम, २९ कात्तिकः मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा उत्रेका मधेसवादी राजनीतिक दललाई वार्तामा आउन आह्वान गर्नुभएको छ । उहाँले र सहमति तथा संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री यादवले आज प्रदेशवासीको नाममा सम्बोधन गर्दै हरेक समस्याको समाधान वार्ता, संवाद र सहमतिबाट आउने भएकाले आन्दोलन रोकी सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आन्दोलनरत मधेसवादी दलहरूबीच मुठभेडको अवस्थामा हुनसक्ने भन्दै संवादको माधयमबाट अहिलेको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री तथा संवैधानिक निकायको प्रमुखलाई वर्तमान अवस्थामा असुरक्षा रहेको गुनासो व्यक्त गर्दै मुख्यमन्त्री यादवले वार्ता नै संवादको उत्तम विकल्प रहेको धारणा राख्नुभयो ।
मधेसवादी दलहरूको कुनै एजेण्डा नरहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले सर्वौच्च अदालतमा आफूविरुद्ध मुद्दा दायर गरी कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो । आफू नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सुरक्षामा भए पनि आन्दोलनकारीको भूमिका उग्र हुँदा स्थिति मुठभेडतर्फ गएकाले आन्दोलन त्यागेर वार्तामा आउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
“लोसपा नेतृत्वबाट मुख्यमन्त्री बन्नुभएका जितेन्द्र सोनलको सरकार आफ्नै सहयात्रीहरूको स्वार्थका कारण ढलेको हो”, मुख्यमन्त्री यादवले भन्नुभयो । सर्वोच्च अदालतको फैसलालाई आफूले स्वीकार गर्ने जनाउँदै उहाँले आफू सदैव संविधान र सङ्घीयताको पक्षमा रहेको उल्लेख गर्नुभयो । रासस