अभिलाष गुप्ता
वीरगञ्ज, २९ कार्तिक
बिर्ता प्रहरीद्वारा भिड नियन्त्रण (Crowd Control) क्षमता सुदृढीकरण उद्देश्यसहित वीरगञ्ज–४ स्थित त्रिजुद्ध माध्यमिक विद्यालयको खेलमैदानमा आज बिहान अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र तयारी अवस्थामा राख्नु मुख्य उद्देश्य रहेको आयोजनामा प्रहरी जवानदेखि अधिकृत तहसम्मको सहभागीता रहेको थियो।
अभ्यासमा कार्यालय प्रमुख प्रहरी निरीक्षक (प्र.नि.) विक्रम सुवेदीको विशेष उपस्थितिमा प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सुनिल पनेरु तथा प्रहरी सहायक हवल्दार (प्र.स.ह.) भुपेन्द्र प्रसाद यादवले प्रशिक्षण दिए।
कार्यक्रममा भिड व्यवस्थापनका वैज्ञानिक विधि, आकस्मिक अवस्थाको सामना गर्ने तरिका, टोली संचालन प्रक्रिया, सुरक्षा घेरा निर्माण,भीडलाई निष्क्रिय पार्ने रणनीति लगायतका विषयहरूमा व्यावहारिक प्रशिक्षण दिएको थियो।बिर्ता प्रहरी तथा मातहतका एकाइहरूबाट गरी २७ जना प्रहरीजवानको सहभागीता रहेको थियो।
प्रहरीका अनुसार यस किसिमका अभ्यासले आकस्मिक घटनामा द्रुत र प्रभावकारी प्रतिक्रिया दिन सहयोग गर्ने तथा सुरक्षा क्षमतामा थप सुदृढता ल्याउने विश्वास लिइएको छ।









