,

नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्समा मानव अधिकारसम्बन्धी तालिम सम्पन्न

पवन साह Avatar
नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्समा मानव अधिकारसम्बन्धी तालिम सम्पन्न

अभिलाष गुप्ता

बीरगंज २८ कार्तिक

 

नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्समा आज मानव अधिकारसम्बन्धी एकदिवसीय व्यापक तालिम कार्यक्रम सम्पन्न भएको छ। कलेजको सभाहलमा आयोजना गरिएको उक्त तालिममा विद्यार्थी, प्रशिक्षार्थी तथा शिक्षकमिलाई गरी ८० भन्दा बढी सहभागीहरूको सक्रिय उपस्थिति रहेको थियो।

 

कार्यक्रमको उद्घाटन कलेजकी प्रिन्सिपल ममता यादवले गर्दै मानव अधिकारसम्बन्धी चेतना स्वास्थ्य क्षेत्रका विद्यार्थीका लागि अत्यन्तै महत्त्वपूर्ण हुने बताउनु भयो। उहाँले स्वास्थ्य सेवा प्रदायकले मानव अधिकारको सम्मान गर्दै सेवा प्रदान गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता तालिमले विद्यार्थीहरूमा संवेदनशीलता र व्यावसायिक उत्तरदायित्व दुवै बढाउन मद्दत गर्ने धारणा राख्नुभयो।

 

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह १६ का अध्यक्ष रजनीश झा, समूहका सलाहकार राजेश जैन बोथरा तथा शम्भु घेर्मे विशेष अतिथि तथा प्रशिक्षकको रुपमा उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य प्रशिक्षकको भूमिका सम्हाल्दै रजनीश झाले मानव अधिकारका आधारभूत सिद्धान्त, विश्वभरका मानव अधिकारका संरचना तथा नेपालमा लागू कानूनका प्रावधानबारे विस्तृत प्रस्तुति दिनुभयो।

 

झाले मानव अधिकार उल्लंघनका उदाहरणहरू, समस्याका स्वरूप, पीडितका अधिकार, कानुनी उपायहरू तथा विद्यार्थीहरूले समुदायमा कसरी मानव अधिकारमैत्री व्यवहार प्रवर्द्धन गर्न सक्छन् भन्ने विषयमा व्यावहारिक अभिमुखीकरण प्रदान गरे। सहभागीहरूले समूहगत छलफल, केस–स्टडी र प्रश्न–उत्तर सत्रमार्फत विषयवस्तुको गहिरो ज्ञान हासिल गरेको बताइएको छ।

 

समूहका सलाहकार राजेश जैन बोथराले मानव अधिकार सम्मान र सुरक्षा केवल कानुनी विषय मात्र नभई जीवनशैलीको अभ्यास पनि हो भन्नेमा जोड दिएका थिए। शम्भु घेर्मेले स्वास्थ्य क्षेत्रमा हुने मानव अधिकार सम्बन्धी चुनौतिहरू र समाधानका उपायहरूबारे प्रकाश पार्नुभयो।

 

कार्यक्रम समापन गर्दै कलेज प्रशासनले यस्ता ज्ञानमूलक तथा क्षमता अभिवृद्धि कार्यक्रमले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वमा सक्षम बनाउने विश्वास व्यक्त गरेको छ। सहभागीहरूले पनि तालिम अत्यन्तै उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए।