,

मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री : सरोज यादवले लिए शपथ विवाद चर्कियो

पवन साह Avatar
मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री : सरोज यादवले लिए शपथ विवाद चर्कियो

अभिलाष गुप्ता

बीरगंज, २५ कार्तिक

 

मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा (एमाले) का संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी छन्। विशेष परिस्थितिमा उपचारका लागि काठमाडौं जाँदै गर्दा भण्डारीले सिन्धुलीस्थित एक होटलमै यादवलाई शपथ खुवाएकी हुन्।

 

संविधानको धारा १६८(३) बमोजिम, प्रदेश सभामा सबैभन्दा ठुलो दलको नेताका रूपमा यादवलाई प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा नियुक्त गर्दै शपथ ग्रहण गराएकी थिइन्। यादवको नेतृत्वमा अब मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ।

 

तर, यो घटनाले प्रदेश राजनीतिक वृत्तमा व्यापक विवाद र आलोचना निम्त्याएको छ। निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख भण्डारीको निर्णय र शैलीप्रति कडा आपत्ति जनाउँदै भनेका छन्, प्रदेशको अस्मिता र मर्यादालाई एक होटलमा समाप्त पारिएको छ। यो मधेसका जनतासँगको धोका हो।

 

सोनलले थप आरोप लगाउँदै भनेका छन् कि, संवैधानिक पदमा रहेका व्यक्तिहरूले यस्तो असंवैधानिक र अव्यवस्थित ढंगले शपथ खुवाउनुले लोकतान्त्रिक मूल्य र प्रणालीमाथि प्रश्न उठाएको छ।

 

यस घटनापछि सामाजिक सञ्जालमा समेत समर्थन र विरोधका धारा चलेका छन्। केहीले भण्डारीको कदमलाई आकस्मिक परिस्थितिमा गरिएको व्यावहारिक निर्णय भन्दै समर्थन गरेका छन् भने अरूले संविधान र प्रोटोकलको अवमूल्यन भएको आरोप लगाएका छन्।

 

प्रदेशमा अब नयाँ सरकार गठनसँगै शक्ति सन्तुलन र दलगत समीकरणमा पुनः हलचल सुरु भएको छ। मुख्यमन्त्री बनेका सरोज यादवले छिट्टै नयाँ मन्त्रीपरिषद् गठन गर्ने तयारी गरिरहेका छन्।

 

यसैबीच, राजनीतिक विश्लेषकहरू भन्छन यो घटना केवल सत्ता हस्तान्तरणको होइन, प्रदेशको राजनीतिक परिपक्वता र संवैधानिक आचरणको पनि परीक्षा हो।