दिपेश कुमार साह
रौतहट, कार्तिक । रौतहटको कटहरिया नगरपालिका मा करार तथा ज्यालादारी कर्मचारीहरूले सुरु गरेको तालाबन्दी सोमबार पनि जारी रह्यो। लगातार छैटौं दिनमा प्रवेश गरेको आन्दोलनमा सोमबार नगरका वडाअध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरू समेत सहभागी भई कर्मचारीहरूको पक्षमा ऐक्यबद्धता जनाए।
कर्मचारीहरूले विगतदेखि नै माग गर्दै आएका बक्यौता तलब–भत्ता तत्काल भुक्तानी गर्नुपर्ने विषयमा जनप्रतिनिधिहरू पनि एउटै मतमा उभिएका छन्। उनीहरूको भनाइमा, “तलब–भत्ता नपाउँदासम्म तालाबन्दी अन्त्य हुँदैन।
सोमबारको ऐक्यबद्धता कार्यक्रममा वडा नं. १ का अध्यक्ष भूपेन्द्र महतो, वडा नं. २ का अध्यक्ष हरिन्द्र साह, वडा नं. ३ का अध्यक्ष श्यामाकान्त यादव, वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं. ५ का अध्यक्ष सर्फलाल गुप्ता, वडा नं. ६ का अध्यक्ष जयराम चौधरी, वडा नं. ७ का अध्यक्ष सहिद मियाँ धोबी, वडा नं. ८ का अध्यक्ष समिश बिक्रम शाह, साथै वडा सदस्य रामेश्वर राय यादव र कार्यपालिका सदस्य मनोज जयसवाल उपस्थित थिए।
यी सबै जनप्रतिनिधिहरूले आन्दोलनरत कर्मचारीहरूका मागलाई वैधानिक र न्यायोचित ठहर गर्दै तत्काल समाधान गर्न नगर प्रशासन र सम्बन्धित मन्त्रालयसँग आग्रह गरे। उनीहरूले भने, “नगरपालिका चलाउने जिम्मेवारी हाम्रा काँधमा भए पनि कर्मचारीहरूको हक अधिकार सुरक्षित नगरी विकास र प्रशासनिक काम अगाडि बढाउन सम्भव छैन।”
तर, नगरप्रमुख (मेयर) र प्रमुख प्रशासकीय अधिकृत (हाकिम) भने कार्यक्रममा अनुपस्थित रहेका थिए। उनीहरू किन उपस्थित भएनन् भन्ने विषयमा नगरपालिकाबाट कुनै आधिकारिक जानकारी दिइएको छैन।
गत बुधबारदेखि कर्मचारीहरूले नगरपालिकाको केन्द्रीय कार्यालय र सबै ९ वटा वडा कार्यालयमा तालाबन्दी गर्दै दैनिक धर्ना दिइरहेका छन्। उनीहरूको भनाइमा, “गत वर्षको आन्दोलनका क्रममा दिपावली र छठअघि बाँकी तलब–भत्ता भुक्तानी गर्ने लिखित आश्वासन दिइए पनि त्यो कार्यान्वयन नभएकोले हामी पुनः आन्दोलनमा उत्रिएका हौं।”
कर्मचारीहरूले लामो समयदेखि सेवामा खटिएर पनि पारिश्रमिक नपाउँदा उनीहरूको जीवनयापन कष्टकर भएको गुनासो गरेका छन्। कतिपयले घरभाडा, विद्यालय शुल्क र दैनिक खर्च चलाउन पनि कठिनाइ भएको बताए।
आन्दोलनमा रहेका एक कर्मचारीले भने, “हामीले जनता र नगरको सेवा गर्दै आएका छौं। तर महिनौंदेखि तलब नपाउँदा परिवार चलाउनै गाह्रो भएको छ। अब अधिकारका लागि लड्नुको विकल्प छैन।
यसबीच, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फिर्ता बोलाएपछि कार्यालय नेतृत्व शून्य बनेको छ। प्रशासनिक नेतृत्व नहुँदा कागजी कामदेखि निर्णय प्रक्रियासम्म सबै कार्य ठप्प भएका छन्।
आन्दोलनरत कर्मचारी र जनप्रतिनिधिहरूले नयाँ प्रशासकीय अधिकृत तुरुन्त पठाइ नगरको प्रशासनिक गतिशीलता पुनःस्थापना गर्न माग गरेका छन्। उनीहरूको भनाइमा, “नगरप्रमुख र प्रशासनबीचको समन्वय अभावले समस्या थपिएको छ। यदि तत्काल समाधान खोजिएन भने आन्दोलन अझ व्यापक बन्न सक्छ।”
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यथासिघ्र नयाँ कार्यालय प्रमुख खटाउने र तालाबन्दी अन्त्य गर्न पहल गर्न आग्रह गरिएको छ।
तालाबन्दीका कारण नगरपालिकाका नागरिक सेवा र प्रशासनिक काम ठप्प भएका छन्। नागरिकता सिफारिस, जन्म–मृत्यु दर्ता, कर बुझाउने, व्यवसाय दर्ता, र सामाजिक सुरक्षा भत्ता वितरणजस्ता काम रोकिएपछि सेवाग्राहीहरू निराश भएका छन्।
कटहरियाकी स्थानीय बासिन्दा सावित्री देवी साह भन्छिन्, “छोराको जन्मदर्ता बनाउन आएकी थिएँ, तर कार्यालय त तालाबन्दीमा रहेछ। हप्तौंदेखि यस्तै समस्या छ।”
यस्तै, वडा नं. ६ का एक युवा व्यापारीले भने, “कर तिर्ने समय सकिन लाग्यो तर कार्यालय बन्द छ। नगरले आम्दानी गुमाइरहेको छ, नागरिकले सेवा।
यसअघि पनि कर्मचारीहरूको आन्दोलनको क्रममा पूर्व नगरप्रमुख सियाराम कुशवाहा ले आन्दोलनलाई समर्थन जनाउँदै भनेका थिए, “कर्मचारीहरू नगरका मेरुदण्ड हुन्। उनीहरूलाई उचित पारिश्रमिक नदिई नगर सुचारु चलाउन सकिँदैन।”
उनको भनाइमा, अहिलेको अवस्था समाधान नभए कटहरियाको विकास र प्रशासनिक विश्वास दुवै संकटमा पर्न सक्छ।
कटहरियामा अहिले प्रशासन ठप्प, कर्मचारीहरू आन्दोलनमा र जनप्रतिनिधिहरू सडकमा छन्। नगरप्रमुख र हाकिम अनुपस्थित हुँदा समस्या झन् गम्भीर बन्दै गएको छ।
आन्दोलनरत कर्मचारी र ऐक्यबद्ध जनप्रतिनिधिहरू एक स्वरमा भन्छन्
“हामी अधिकारका लागि उभिएका हौं। जबसम्म तलब–भत्ता उपलब्ध हुँदैन, तालाबन्दी जारी रहनेछ।”
सेवा ठप्प, जनता मर्कामा, प्रशासन नेतृत्वविहीन — यिनै तीन कारणले अहिलेको कटहरिया संवेदनशील र निर्णायक मोडमा पुगेको छ।
नगरमा समाधानका लागि पहल नभए, यो आन्दोलन अझ व्यापक र दीर्घकालीन बन्न सक्ने चेतावनी कर्मचारीहरूले दिएका छन्।









