दिपेश कुमार शाह /रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिका–४ मा स्थापित प्रदेश जनसेवा अस्पताल प्रा. लि. को भव्य उद्घाटन समारोह सोमबार सम्पन्न भएको छ । स्थानीय तहमा गुणस्तरीय, सुलभ र २४ सै घण्टा आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको यो अस्पतालले कटहरिया नगरको स्वास्थ्य क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।
उक्त अस्पतालको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा वडा नं. ४ का लोकप्रिय अध्यक्ष तथा नेकपा (एमाले)का मेयर पदका सम्भावित उम्मेदवार चन्दन कुमार कुशवाहाले रिबन काटी औपचारिक रूपमा शुभारम्भ गरेका हुन् । उनले अस्पतालको मुख्य प्रवेशद्वारमा रिबन काटेर अस्पतालको उद्घाटन गरेपछि अस्पताल परिसरमा आयोजित औपचारिक कार्यक्रममा सहभागी भए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्दन कुमार कुशवाहाले भने, “कटहरियाका जनताको स्वास्थ्य सुरक्षाको अभाव अब समाप्त भयो । अब हामीलाई सामान्य उपचार वा आपतकालीन अवस्थामा नगर बाहिर धाउनुपर्ने दिन गए । यो अस्पतालले स्थानीय समुदायलाई २४ सै घण्टा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ, जसले कटहरियालाई आत्मनिर्भर नगर बनाउनेछ ।”
उनले थपे, “जनताको स्वास्थ्य र सुशासन हाम्रो पहिलो प्राथमिकता हो । हामीले नगरमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई समान प्राथमिकताका साथ अघि बढाइरहेका छौं । यो अस्पतालले नगरवासीलाई मात्र होइन, आसपासका गाउँहरूलाई पनि लाभ पुर्याउनेछ ।”
अस्पतालका निर्देशक प्रा. गोविन्द पी. कुशवाहाले कार्यक्रममा संस्थाको उद्देश्य र भविष्यका योजनाबारे जानकारी दिँदै भने, “हामीले अत्याधुनिक उपकरण, दक्ष चिकित्सक र नर्सिङ टोलीसहित सेवा सञ्चालनमा ल्याएका छौं । २४ सै घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्स–रे, अल्ट्रासाउन्ड, सुत्केरी सेवा लगायतका सुविधा तत्काल सुरु गरिएका छन् ।”
उनका अनुसार, अस्पतालमा दैनिक रूपमा बिरामीका लागि निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप, सुगर, तापक्रम जाँच लगायतको प्राथमिक सेवा पनि सुरु गरिएको छ । निकट भविष्यमा हृदय, नेत्र, दन्त, बाल तथा स्त्री रोग विशेषज्ञको सेवा पनि सुरु गरिने तयारी भइरहेको निर्देशक कुशवाहाले जानकारी दिए ।
उद्घाटन समारोहमा कटहरिया नगरपालिकाका पूर्व मेयर सियाराम कुशवाहा, समाजसेवी नसरुदिन अन्सारी, विभिन्न वडाका वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, शिक्षक, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम स्थलमा सयौंको भीड देखिएको थियो, जसले अस्पतालप्रतिको जनताको विश्वास र आशा स्पष्ट रूपमा प्रकट गरेको थियो ।
स्थानीय व्यवसायी अमरेश साहले भने, “अब सामान्य जाँच वा उपचारका लागि नगर बाहिर जानुपर्ने छैन । हाम्रो नगरमै यस्तो सुविधा आएकोमा हामी अत्यन्त खुशी छौं । यो अस्पतालले स्थानीयलाई मात्र होइन, सम्पूर्ण रौतहट क्षेत्रका बिरामीहरूलाई पनि राहत दिनेछ ।
त्यस्तै स्थानीय बासिन्दा मुन्ना यादवले भने, “पहिले बिरामी पर्नासाथ जनकपुर वा वीरगंज जानुपर्थ्यो । अहिले घर नजिकै यस्तो सुविधा पाइँदा बुढापाका र महिलाहरूका लागि निकै सहज हुनेभयो ।”
कार्यक्रमको समापनमा प्रमुख अतिथि चन्दन कुशवाहाले अस्पताल प्रशासन र सम्पूर्ण स्वास्थ्यकर्मीलाई सफलताको शुभकामना दिँदै भने, “यो अस्पतालको सफल सञ्चालन नै कटहरियाको विकासको सूचक हुनेछ । नगरका नागरिकले अब गुणस्तरीय सेवा पाउँदा हामी सबैको प्रयास सफल हुनेछ
उनले जनताको सहयोग बिना कुनै पनि विकास सम्भव नभएको उल्लेख गर्दै स्थानीयहरूलाई अस्पताललाई आफ्नै सम्पत्ति ठानेर संरक्षण र सहयोग गर्न आग्रह गरे ।
उद्घाटन समारोहमा सुरक्षाकर्मी, स्थानीय पत्रकार, सामाजिक अभियन्ता र जनप्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमका सञ्चालकले अस्पतालका विभिन्न विभाग र सेवाहरूको संक्षिप्त परिचय दिँदै उपस्थित अतिथिहरूलाई धन्यबाद ज्ञापन गरेका थिए ।
अस्पताल परिसरमा सो अवसरमा दीप प्रज्वलन, फूलमाला र स्वागत–गान पनि प्रस्तुत गरिएको थियो । स्थानीय महिला समूह र युवाहरूले प्रमुख अतिथि कुशवाहालाई ढोल–नगारा बजाएर स्वागत गरेका थिए ।
कटहरिया नगरपालिका–४, रौतहटमा उद्घाटन गरिएको ‘प्रदेश जनसेवा अस्पताल प्रा. लि.’ अब नगरको स्वास्थ्य सुरक्षाको भरपर्दो केन्द्रका रूपमा स्थापित भएको छ । स्थानीय जनताको स्वास्थ्य सेवा, आपतकालीन उपचार र चिकित्सकीय पहुँचमा सुधार ल्याउने यो अस्पतालले कटहरिया नगरलाई स्वास्थ्यका दृष्टिले आत्मनिर्भर नगर बनाउने दृढ विश्वास गरिएको छ ।









