अभिलाष गुप्ता
बीरगंज, १६ कार्तिक
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालको बिदाई तथा फेरि भेटौंला कार्यक्रम एवं नया आएका डिएस्पी राजु कार्की लाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रम वीरगंज–१०, आदर्शनगरस्थित ग्रीनसिटी सामुदायिक प्रहरी कार्यालयमा सम्पन्न भएको हो।कार्यक्रमको अध्यक्षता ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको थियो।
उक्त अवसरमा उपस्थित पदाधिकारी, आजीवन सदस्य र स्थानीय समुदायका प्रतिनिधिहरूले मायाको चिनो, खादा र मालासहित डीएसपी लम्साललाई सम्मानपूर्वक बिदाई गरे। कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौलागाईं, सञ्चारकर्मीहरू तथा विभिन्न सामाजिक अभियन्ताहरूको पनि उल्लेखनीय उपस्थिति थियो।
प्रहरी प्रधान कार्यालय, नक्सालले हालै डीएसपी किशोर लम्साललाई इलाका प्रहरी कार्यालय दमक, झापाको प्रमुखको जिम्मेवारीसहित सरुवा गरेको छ।लम्सालले निकट भविष्यमै दमक पुगेर आफ्नो नयाँ पदभार ग्रहण गर्ने तयारी गरेको बताइएको छ।
पर्सामा कार्यरत रहँदा उनले उत्कृष्ट नेतृत्व, अनुशासन र निडरताका साथ काम गर्दै प्रहरी संगठनभित्र एक इमानदार, कर्मठ र लोकप्रिय अधिकृतका रूपमा पहिचान बनाएका थिए।उनको कार्यकालमा सुरक्षा संयोजन, अपराध नियन्त्रण र समुदाय–प्रहरी साझेदारीमा उल्लेखनीय सुधार आएको सहकर्मीहरूले बताएका छन्।
“सेवा र जिम्मेवारी नै प्रहरीको पहिचान हो” डीएसपी लम्साल
बिदाई कार्यक्रममा बोल्दै डीएसपी लम्सालले प्रहरी सेवालाई आफ्नो जीवनको अभिन्न अंश भन्दै भने कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीको सक्रियता र तदारुकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण गर्न सकिन्छ। पीडक खुलेआम नहुन र पीडितले न्याय पाउन सकोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।
उनका अनुसार प्रहरी संगठन सेवा, निष्ठा र उत्तरदायित्वमा आधारित हुनुपर्नेमा उनले जोड दिए।सहकर्मीहरूको भनाइमा डीएसपी लम्साल एक शालीन, भद्र र व्यवहारिक नेतृत्व हुन्, जसले संगठनमा अनुशासन र पारदर्शिता कायम गर्न सधैं अग्रसर रहँदै आएका छन्।अपराध अनुसन्धानमा उनको दखल, विवेकशील निर्णय क्षमता र संगठनप्रतिको निष्ठाले उनलाई एक आदर्श प्रहरी अधिकृतका रूपमा चिनाएको छ।
पर्साबाट उनको सरुवासँगै जिल्ला प्रहरी कार्यालयमा उनको कमी महसुस हुने बताइँदैछ। तर सहकर्मीहरू र समुदायका प्रतिनिधिहरूले विश्वास व्यक्त गरेका छन् कि दमकमा पनि उनले आफ्नो दक्षता, निष्ठा र सेवा–भावको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नेछन्।









