बिरगंज १४ कार्तिक
प्रधानमन्त्री सुशीला कार्कीले घोषित निर्वाचनलाई सहज र विश्वासपूर्ण बनाउन राजनीतिक दल र जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग बैठक बोलाएर दल–सरकारबीचको दूरी घटाउने र ‘आइसब्रेक’ गर्ने प्रयास गरेकी छन्। नेपाली कांग्रेसका नेता प्रकाश कुमार उपाध्यायले प्रधानमन्त्रीको यो पहललाई सकारात्मक र स्वागतयोग्य भनेका छन्।
तर उनले हालको राजनीतिक अवस्थाप्रति असन्तोष जनाउँदै भने, “राजनीति बाटो बिराएको देखिन्छ, सन्तुष्ट हुने अवस्था छैन।”
उपाध्यायले उखान उद्धृत गर्दै भने, “‘काशी जानु कुतीको बाटो’ जस्तै, हाम्रो गन्तव्य एकातिर छ तर यात्रा अर्कै दिशातर्फ गइरहेको देखिन्छ।”
उनका अनुसार, जेनजी आन्दोलन किन र केका लागि भयो भन्ने प्रश्न अब इतिहासले सोध्नेछ। “त्यो आन्दोलन युवाको रगत र सहादतको बलिदानबाट आएको हो, त्यसैले यसको लक्ष्य र गन्तव्य स्पष्ट हुनुपर्छ,” उनले भने।
उनी थप्छन्, “यदि हिजोको जस्तै अवस्था र यही निर्वाचन प्रणालीमै सबै कुरा ठिकठाकै थियो भने, के २०८४ को निर्वाचनलाई २०८२ मा सार्न र ओली सरकार ढाल्न मात्रै आन्दोलन भएको थियो?”
उपाध्यायका अनुसार, जेनजी आन्दोलनको मूल मर्म वर्तमान संविधानको संशोधनदेखि देशको राजनीतिक, आर्थिक, सामाजिक र प्रशासनिक संरचनाको रुपान्तरणसम्म फैलिएको छ। उनले भने, “यदि संविधान नै देशको समग्र परिवर्तनमा बाधक बनेको छ भने बहुदलीय संसदीय व्यवस्थाको मर्मलाई कायम राख्दै बाँकी कुरामा संशोधन, परिमार्जन हुनुपर्छ — किनकि देश भन्दा माथि संविधान वा कुनै वाद हुन सक्दैन।”
उनले चेतावनी दिए, “यदि चुनावका लागि मात्रै चुनावमा गइयो भने देश राजनीतिक निकासमा पुग्दैन, फेरि अस्थिरताको गोलचक्करमा फस्नेछ।”
उपाध्यायले हालको निर्वाचन प्रणालीलाई नै अस्थिरताको प्रमुख कारण बताउँदै भने, “यसरी जाने हो भने न त कुनै दललाई एकल बहुमत आउँछ, न देशमा स्थायित्व रहन्छ। फेरि संसदीय अंकगणित र गठबन्धनको जोडघटाउले देश चलाउनुपर्ने अवस्था आउँछ।”
उनले प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई सर्वदलीय, सर्वपक्षीय गोलमेच सम्मेलन बोलाउन आग्रह गर्दै भने, “सबै पक्षका सुझाव संकलन गरी संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ। आवश्यक परे जनमत संग्रहबाट टुंगो लगाउन सकिन्छ।”
उपाध्यायले अन्त्यमा भने, “राष्ट्र र जनतालाई सर्वोपरि ठानेर दलगत आग्रह र पूर्वाग्रहभन्दा माथि उठ्ने बेला आएको छ। बरु एक–दुई दिनका लागि भए पनि संसद पुनर्स्थापित गरेर ‘One Nation, One Election’ अवधारणाअनुसार सबै तहको निर्वाचन एकैसाथ गरेर देशलाई स्थायी राजनीतिक निकास दिनुपर्छ।”
“फागुन २१ को निर्वाचनले जेनजी आन्दोलनको माग सम्बोधन गर्न सक्दैन, न देशलाई स्थायित्वको दिशामा डोर्याउन सक्छ,” उनले स्पष्ट पारे।
अन्त्यमा उपाध्यायले भने
“अब देशलाई राजनीतिक प्रयोगशाला होइन, स्थायित्व र समृद्धिको दिशामा लैजाने समय आएको छ।”प्रकाश कुमार उपाध्याय, नेता, नेपाली कांग्रेस जय नेपाल 🇳🇵🙏





 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 





