वीरगन्ज /३१ असोज
शुभ दीपावलीको अवसरमा वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नयाँ र पुराना गरी करिब ९ सय थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले जानकारी दिनुभयो। बैंकले प्रत्येक हप्ता आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० देखि बेलुका ५ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयमार्फत गरीब तथा असहाय व्यक्तिहरूलाई नि:शुल्क कपडा वितरण गर्दै आएको छ।
कार्यक्रम बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो।
सो अवसरमा बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथि रहनु भएको थियो भने सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता विशिष्ट अतिथि हुनुहुन्थ्यो।
कार्यक्रममा समाजसेवी हुकुम सिंह, नरेन्द्र पटेल, सल्लाहकार श्रवण बहादुर रायमाझी, उपाध्यक्ष मोनिका सिंह, सदस्य निला कुमारी राम, जानकी देवी, सञ्जय मण्डल, नवराज भट्टराई, केदार गुप्ता, मनोज यादव, साथै सञ्चारकर्मी नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ता, राज सराफ, रामजी यादव, निरञ्जन साह, विशाल यादव, धर्मेन्द्र साह, पवन प्रसाद साह, सिके प्रजापती, अर्जुन चौधरीलगायतको उपस्थिति थियो।
प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जोसँग धेरै कपडा छ, उनले हामीलाई दिएर जानुस्, र जसलाई आवश्यक छ, उनले हामीसँग लिएर जानुस्” भन्ने मूल मन्त्रका साथ बैंकले विगत ६ वर्षदेखि निरन्तर सेवा गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले आगलागी, बाढीजस्ता विपत्तिबाट पीडितहरूलाई उनीहरूको घरआँगनमै पुगेर लत्ताकपडासहित अन्य सामग्री सहयोग गर्दै आएको कार्यप्रति प्रशंसा गर्नुभयो।
कुर्मीले सबै नागरिकलाई आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत रकम असहाय र दिनदुखीको सेवामा खर्च गर्न आग्रह गर्दै मानवता बलियो बनाउन सबैलाई आव्हान गर्नुभयो। साथै उहाँले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि अधिवक्ता गुप्ताले पनि सबैको सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्ने भन्दै असहायको सेवामा हातेमालो गर्न आग्रह गर्नुभयो।
कार्यक्रमका अन्त्यमा अध्यक्ष सिंहले बैंकको मानवसेवा अभियानमा साथ र सहयोग प्रदान गर्ने सबै दाता, शुभेच्छुक, सल्लाहकार तथा पदाधिकारीहरूप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।









